प्रधानमन्त्री बालेनले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयलाई गराएको छ।
प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा संसद्लाई जानकारी गराउने भएका हुन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीपछि उद्धार तथा राहतका काम जारी छन्।
अहिलेसम्म १ हजार ११३ जनाको शव फेला परिसकेको छ भने ४ हजार ८५८ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
प्रधानमन्त्री शाहले बाढीपछि राष्ट्रका नाममा सम्बोधन गरेका छैनन्। उनले भने सामाजिक सञ्जालमार्फत नियमित रूपमा बाढी प्रभावित क्षेत्रको अवस्था तथा सरकारका कामबारे जानकारी दिँदै आएका छन्।
आजको प्रतिनिधि सभा बैठकमा सभामुखले भोटेकोशी बाढी र त्यसबाट भएको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ।





प्रतिकृया दिनुहोस्