अमेरिकी सेना आएको हल्ला निराधार, राहत सामग्री बोकेर आएको थियो अमेरिकी वायुसेनाको जहाज

काठमाडौं । रसुवा बाढीको भोलिपल्ट काठमाडौं आएको अमेरिकी वायुसेनाको जहाज राहत सामग्री बोकेर आएको नेपाली सेनाले स्पष्ट पारेको छ। अमेरिकी सेना ठूलो संख्यामा काठमाडौं आएको भन्ने चर्चा भने निराधार रहेको सेनाको भनाइ छ।
अमेरिकी वायुसेनाको ट्रेक ९९० सिरिज र सी–३० कलसाइन भएको जहाज अगस्ट २७ (भदौ ११) बिहान ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाज दिउँसो १२ः५० बजे फर्किएको विमानस्थलका सहायक प्रवक्ता तथा प्रमुख एयर ट्राफिक कन्ट्रोलर देवेन्द्रप्रसाद श्रेष्ठले पुष्टि गरे।
उनका अनुसार जहाजले बाढी प्रभावितका लागि राहत सामग्री ल्याएको थियो। ती सबै सामग्री नेपाली सेनाले बुझेको उनले बताए।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार अमेरिकालगायत विभिन्न देशबाट राहत सामग्री ल्याउने जहाजका विषयमा परराष्ट्र मन्त्रालयले सम्बन्धित देश र दूतावाससँग समन्वय गर्ने गरेको छ।
‘अमेरिकी जहाज पनि सोही प्रक्रियाबाट आएको हो,’ बस्नेतले भने।
उनका अनुसार अहिले भारतीय, चिनियाँ र कोरियाली टोलीले नेपाली सेनासँग खोज तथा उद्धारमा सहकार्य गरिरहेका छन्। भारतीय र चिनियाँ सेनाका टोलीले सुरुङमा उद्धार कार्यमा सहयोग गरिरहेका छन् भने कोरियाली टोली रेकीपछि काममा खटिएको छ।
बस्नेतले अमेरिकी सेना भने उद्धार टोलीका रूपमा नेपाल नआएको स्पष्ट पारे।





प्रतिकृया दिनुहोस्