October 8, 2026, Thursday
२०८३ आश्विन २३

आइसिसीको मान्यताको पर्खाइमा क्यान र एनपीएलका टोली

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।

त्यसका लागि आइसिसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी दिए । 

‘राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ । तर, अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियली स्याङ्कसन (आइसिसी मान्यता) आएपछि मात्रै उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ’, खड्काले भने, ‘धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ । आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस् ।’ आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने उनको भनाइ छ । त्यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तरराष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने खड्काले बताए ।

आइसिसीबाट मान्यता प्राप्त भएमा एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ । त्यसैले क्यानसँगै एनपिएलका टोलीसमेत आइसिसीको निर्णयको प्रतीक्षामा छन् । निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीको भनाइ छ ।

एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरोज खतिवडा पनि आइसिसीको निर्णयको पर्खाइमा छन् । उनले आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे । ‘आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तरराष्ट्रिय मान्यता दिनेछ । त्यसोहुँदा हामीले आवश्यकपर्ने थप विदेशी स्टारलाई भित्र्याउन सहज हुनेछ’, खतिवडाले भने ।

यसपटक एनपिएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तरराष्ट्रियस्तरका चर्चित खेलाडी जोडिँदै छन् । ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ ।

क्यानका सचिव खड्काले एनपिएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनका माध्यमका रूपमासमेत विकास गर्न सकिने बताउनुभयो । यसअघि एनपिएलमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए ।

‘इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायरहरू, कमेन्टेटरहरू गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किनुभएको छ’, सचिव खड्काले भने ।

विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ । अन्तरराष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमासमेत पर्नसक्ने सचिव खड्काले बताए । रासस