September 22, 2026, Tuesday
२०८३ आश्विन ६

शुक्लाफाँटामा चित्तलसँग तीन मोटरसाइकल ठोक्किए, चार जना घाइते

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनीस्थित महेन्द्र राजमार्गमा चित्तलसँग तीन वटा मोटरसाइकल ठोक्किँदा चित्तल मरेको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।

सोमबार बेलुका करिब ४ बजे धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेका तीन वटा मोटरसाइकल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सडक पार गर्दै गरेको चित्तलसँग ठोक्किएका हुन्।

दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००४ प ७७५५ नम्बरको मोटरसाइकलका चालक सुन्दर भट्ट र पछाडि सवार उनकी श्रीमती गंगादेवी भट्ट घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश ०१०–११ प ६४०७ र सुदूरपश्चिम प्रदेश ०२–००४ प ३८४२ नम्बरका मोटरसाइकल पनि दुर्घटनामा संलग्न थिए। ती दुवै मोटरसाइकलका चालकलाई सामान्य चोटपटक लागेको र उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निकुञ्ज क्षेत्रबाट सडक पार गर्ने क्रममा चित्तल मोटरसाइकलसँग ठोक्किएको प्रारम्भिक जानकारी छ। दुर्घटनापछि चित्तलको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।