September 22, 2026, Tuesday
२०८३ आश्विन ६

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सदस्यहरूले धारणा राख्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको भानिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेपछि सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने भएका छन्।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार प्रतिवेदनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय निर्धारण गरिएको छ। बैठकमा सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदनमा उठाइएका राजनीतिक, संगठनात्मक तथा पार्टी पुनर्गठनसम्बन्धी विषयमा आफ्ना धारणा राख्नेछन्।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष ओलीले पार्टीको नेतृत्व नछोड्ने संकेतसहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा पछिल्लो समय उठेको पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहसलाई ओलीले चुनौती दिएका छन्।

ओलीले पार्टीको पुनर्गठन आवश्यक भए पनि त्यसलाई तत्काल नेतृत्व विस्थापनसँग जोड्न नहुने तर्क गरेका छन्। पार्टी कुन अवस्थामा छ भन्ने मूल्यांकन नगरी नेतृत्व परिवर्तन गर्ने प्रयासलाई उनले पुनर्गठनको प्रक्रियाका रूपमा स्वीकार गर्न नसकिने धारणा अघि सारेका छन्।

उनले पार्टी पुनर्गठनलाई क्षणिक आवेग वा लहडका आधारमा अघि बढाउन नहुनेमा जोड दिएका छन्। नेतृत्व परिवर्तनभन्दा पार्टीको समग्र अवस्था, संगठनात्मक संरचना र आगामी राजनीतिक चुनौतीको मूल्यांकन आवश्यक रहेको उनको प्रतिवेदनको सार छ।