September 22, 2026, Tuesday
२०८३ आश्विन ६

बंगालको खाडीको प्रणालीको असर : शुक्रबारदेखि तीन दिन भारी वर्षा हुने

काठमाडौँ । नेपालमा बुधबारदेखि वर्षाको गतिविधि बढ्ने र शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको हो।

महाशाखाका अनुसार बंगालको खाडीको मध्य भाग आसपास रहेको न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिमदेखि उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पर्नेछ। बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ।

शुक्रबारदेखि भने वर्षा थप सक्रिय हुने देखिएको छ। गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मधेस तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कर्णालीका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

सम्भावित भारी वर्षाले भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढाउने महाशाखाको चेतावनी छ। सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसँगै नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने भएकाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने जनाइएको छ।

धानबाली भित्र्याउने समय भएकाले किसानलाई आवश्यक सावधानी अपनाउन र कृषि विज्ञको सल्लाहअनुसार काम गर्न महाशाखाले आग्रह गरेको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका व्यक्तिलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ।

सम्भावित जोखिमलाई ध्यान दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। आकस्मिक बाढी आउन सक्ने खोला–खहरे आसपास, पहिरोको जोखिमयुक्त क्षेत्र तथा नदी किनारका बस्तीमा रहेका नागरिकलाई विशेष चनाखो रहन प्राधिकरणले अनुरोध गरेको छ।

जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा संघीय, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय र स्वयंसेवकलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ।

महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै अवस्थाअनुसार थप सूचना जारी गर्ने जनाएको छ। वर्षाजन्य विपद्को जोखिम उच्च हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई पूर्वतयारी र सतर्कता बढाउन आग्रह गरिएको छ

794413351_2228784157743752_3039186991321624916_n-1790000717.jpg