प्रधानमन्त्री बालेन्द्र आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै, न सलामी, न तामझाम

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ८ गते (सेप्टेम्बर २४) महासभाको साधारण बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनका क्रममा नेपालका समसामयिक मुद्दा तथा अन्तर्राष्ट्रिय सरोकारका विषय प्रस्तुत गर्ने तयारी गरिएको छ।

महासभामा नेपालले जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेका विपद्का असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। पछिल्लो भोटेकोशी बाढीपहिरोलाई जलवायुजन्य विपद्का रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याउने तयारी छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। भेटमा नेपाल–संयुक्त राष्ट्रसङ्घ सम्बन्ध तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनेछन्।

परराष्ट्रमन्त्री खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनले महासभाको अवसरमा आयोजना हुने उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाउने र विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

महासभाको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुँदैछ। नेपालले महासभामा हिमाली क्षेत्र, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा जलवायु न्यायसँग सम्बन्धित विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेको छ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसका गम्भीर असर नेपालले भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने तयारी गरेका छन्।

हिमाली क्षेत्र र नदी प्रणालीको संरक्षणसँगै जलवायुजन्य विपद्बाट प्रभावित मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउनसमेत नेपालको ध्यानाकर्षण गराउने तयारी छ।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

बालेनले तोडे संस्कार : न सलामी, न तामझाम

प्रधानमन्त्री शाहको यो विदेश भ्रमण विगतका प्रधानमन्त्रीको भन्दा फरक हुनेछ । विमानस्थलमा नेपाली सेनाको सलामी नहुने र मन्त्रीदेखि उच्चपदस्थ कर्मचारीसम्मको औपचारिक बिदाइको भीड पनि देखिने छैन।

प्रधानमन्त्री कार्यालयका अनुसार विदेश भ्रमणमा जाने र फर्किने क्रममा विमानस्थलमा सरकारी पदाधिकारी तथा कर्मचारीको ताँती लगाएर स्वागत तथा बिदाइ गर्ने पुरानो परम्परा तोडिनेछ। प्रधानमन्त्री शाहले औपचारिकता र तामझामभन्दा कामलाई प्राथमिकता दिने नीति लिएको कार्यालय स्रोतको भनाइ छ।

न्युयोर्क प्रस्थान गर्ने दिन पनि शाह बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त छन्। उनी साँझ करिब ६ः१५ बजे बालुवाटारस्थित सरकारी निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री विमानस्थल पुग्नुअघि नै नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू विमानस्थल प्रवेश गरिसक्नेछन्। शाह भीआईपी कक्षको बाटो हुँदै विमानसम्म पुग्नेछन् र त्यहाँ लामो समय औपचारिकतामा नबस्ने तयारी छ।

‘प्रधानमन्त्रीज्यू भीआईपी कक्षको बाटो हुँदै सरासर विमानमा चढ्नुहुनेछ। भीआईपी कक्षमा समय बिताउनुहुन्न,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शाह करिब ७ बजे काठमाडौंबाट अमेरिकाका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

यसपटकको बिदाइमा विगतमा जस्तो मन्त्री, संवैधानिक निकायका पदाधिकारी, सचिव तथा उच्च सरकारी कर्मचारीको ठूलो उपस्थिति नहुने प्रधानमन्त्री कार्यालयको भनाइ छ। यसअघि प्रधानमन्त्रीको विदेश भ्रमणमा जाँदा वा फर्किँदा कार्यालयको नियमित कामसमेत छाडेर उच्च सरकारी अधिकारीहरू विमानस्थल पुग्ने गरेका थिए।

‘स्वागत र बिदाइमा तामझाम गर्ने स्वभाव प्रधानमन्त्रीज्यूको छैन। अहिलेको विपद्को बेलामा अरूले पनि त्यस्तो गर्नु उचित हुँदैन,’ स्रोतले भन्यो।