September 22, 2026, Tuesday
२०८३ आश्विन ६

उच्च रक्तश्रावपछि बाजुराकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार

बाजुरा । सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल बनेकी बाजुराकी एक महिलाको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायालाई थप उपचारका लागि कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

गौमुल गाउँपालिका–५ स्थित आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी रोकायाको रक्तश्राव नरोकिएपछि आफन्तले नौ दिनपछि उनलाई जिल्ला अस्पताल बाजुरा पुर्‍याएका थिए।

सोमबार आकस्मिक कक्षमा ल्याइएकी रोकायाको अत्यधिक रक्तश्राव भएको र अवस्था जटिल बनेपछि चिकित्सकले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेका थिए।

जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार रोकायाको शरीरमा रगतको मात्रा निकै कम हुनुका साथै अन्य स्वास्थ्य समस्या देखिएपछि अवस्था गम्भीर बनेको थियो।

चिकित्सकको सिफारिसपछि जिल्ला प्रशासनको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनको उद्धार गरिएको हो।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार तत्काल थप उपचार आवश्यक देखिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट रोकायालाई सुर्खेत लगिएको हो। समयमै उपचार नपाउँदा ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा पठाइएको जिल्ला अस्पतालले जनाएको छ।