निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रारम्भिक मतदाता नामावली, असोज १२ सम्म सच्याउन सकिने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिएको छ।
आयोगका अनुसार प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको विवरण समावेश गरिएको छ। नाम, थर, जन्ममिति लगायतका विवरणमा त्रुटि भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिएर सच्याउन सक्नेछन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था रहेको बताए। उनले असोज १ देखि १२ गतेसम्म आफ्नो विवरण जाँच गरी त्रुटि भए समयमै सच्याउन मतदातालाई आग्रह गरे।
आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि दुईवटा विधि सञ्चालन गरिरहेको छ। राष्ट्रिय परिचयपत्र (एनआईडी)मा आबद्ध नागरिकले अनलाइन प्रणालीमार्फत तस्बिर तथा जैविक विवरण पेस गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्रमा आबद्ध नभएका नागरिकले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
प्रारम्भिक नामावली सच्याउने अवधिलाई आयोगले नामावली शुद्धीकरणका लागि समेत उपयोग गर्ने जनाएको छ। तोकिएको समयभित्र प्राप्त हुने सच्याउने निवेदन, दाबी तथा विरोधमाथि आवश्यक छानबिन गरिनेछ।
छानबिनपछि आवश्यक संशोधन तथा अद्यावधिक गरी आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेछ। अन्तिम नामावलीमा नाम समावेश भएका नागरिकले मात्र सम्बन्धित निर्वाचनमा मतदान गर्न पाउनेछन्।



प्रतिकृया दिनुहोस्