कैलाली कांग्रेसको कार्यवाहक सभापति फेरिए, भीम बडुवाललाई जिम्मेवारी

धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति भीम बडुवाललाई दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारीसहित पार्टी महामन्त्री प्रदीप पौडेलले बडुवाललाई कार्यवाहक सभापति तोकेका हुन्।
महामन्त्री पौडेलले बडुवाललाई पठाएको पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ ९एघारौँ संशोधनसहित० बमोजिम जिल्ला मातहतका अधिवेशन सम्पन्न गर्न कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको उल्लेख छ।
यसअघि कैलाली कांग्रेसका सभापति नारायणदत्त भट्ट राष्ट्रिय सभा सदस्य बनेपछि उपसभापति खेम चौधरी डगौरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। डगौरा सभापति शेरबहादुर देउवा पक्षसँग निकट मानिन्छन्।
१५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला डगौराको ठाउँमा बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइनुले कैलाली कांग्रेसको संगठनात्मक नेतृत्वमा फेरबदल भएको छ। बडुवालले अब जिल्लाअन्तर्गतका अधिवेशन सम्पन्न गर्ने प्रक्रियाको नेतृत्व गर्नेछन्।
कांग्रेसभित्र महाधिवेशनको तयारी तीव्र भइरहेका बेला कैलालीमा भएको यो जिम्मेवारी हेरफेरले जिल्लाको आगामी संगठनात्मक गतिविधि र अधिवेशन व्यवस्थापनमा समेत प्रभाव पार्ने देखिएको छ।

हो ।




प्रतिकृया दिनुहोस्