सभामुख भण्डारीमाथि कांग्रेस सांसद धामीको कडा टिप्पणी- ‘सांसद पदका यमराज’

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद विक्रमसिंह धामीले सभामुख भीम भण्डारीलाई ‘सांसद पदका यमराज’को संज्ञा दिएका छन्।
बुधबार प्रदेश सभा बैठकमा बोल्दै धामीले कांग्रेस सांसद प्रकाश देउवालाई पदमुक्त गरेको सभामुखको निर्णयप्रति आपत्ति जनाउँदै यस्तो टिप्पणी गरेका हुन्।
रोष्ट्रममा उक्लिएलगत्तै धामीले भने, ‘माननीय सभामुख भनौं कि सांसद पदका यमराज भनौं, अलि छुट्याउन गाह्रो भयो मलाई।’
धामीले निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्नुअघि सम्बन्धित व्यक्तिलाई आफ्नो अवस्था स्पष्ट पार्ने उचित अवसर दिनुपर्ने बताए। सभामुखले प्राकृतिक न्यायको सिद्धान्तअनुसार सुनुवाइको अवसर नदिएको उनको आरोप थियो।
‘निहित स्वार्थपूर्तिका लागि उचित सुनुवाइको अवसर नदिई निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गरिनु लोकतान्त्रिक मूल्य–मान्यताको प्रतिकूल हुन्छ,’ उनले भने, ‘यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौं।’
देउवालाई पदमुक्त गर्ने विषय प्रदेश सभा सञ्चालन नियमावलीअनुसार कार्यव्यवस्था तथा परामर्श समितिमा समेत छलफलका लागि नलगिएको भन्दै धामीले थप आपत्ति जनाए।
सभामुख दलगत राजनीतिभन्दा माथि उठेर तटस्थ भूमिका निर्वाह गर्नुपर्ने भए पनि भण्डारीले त्यस्तो भूमिका निर्वाह नगरेको उनको आरोप थियो।
धामीले सभामुखविरुद्ध यस्तो अभिव्यक्ति दिइरहेका बेला नेकपाका सांसद ओमविक्रम भाटले नियमापत्ति जनाए। उनले ‘यमराज’ शब्द अमर्यादित भएको भन्दै संसदीय अभिलेखबाट हटाउन माग गरे।
भाटले नियमापत्ति जनाएपछि धामीले आफ्नो भनाइ स्पष्ट पार्दै आफूले सभामुखलाई नभई ‘सांसद पद’लाई यमराज भनेको बताए। ‘मैले सांसदको भनेको छैन, संसदको पदको भनेको छु र सभामुख तटस्थ नभएको महसुस गरेको छु,’ उनले भने।
यसै बैठकमा मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। मतदानमा उपस्थित ४६ सांसदमध्ये भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत परेको थियो।
सभामुख भण्डारीले भट्टले बहुमत प्राप्त गरेको घोषणा गर्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए।





प्रतिकृया दिनुहोस्