August 20, 2026, Thursday
२०८३ भाद्र ४

आरोप होइन, तथ्य र प्रमाणका आधारमा बहस गरौँ : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवेदनशील विषयमा आरोप र शंकाका आधारमा धारणा बनाउनुभन्दा तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सञ्चारमाध्यममा आएका विषय, आरोप, अदालतमा विचाराधीन मुद्दा र बयानका क्रममा कसैले नाम लिएको विषयलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए।

संवेदनशील विषयमा प्रश्न उठाउँदा सम्बन्धित व्यक्तिसँगै राज्यका संवैधानिक निकाय र संस्थाको प्रतिष्ठालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

‘आवाज ठूलो हुँदैमा तथ्य ठूलो हुने होइन। प्रमाणहरू यति बलियो होऊन् कि हामीले मुख रातो पारेर प्रश्न गर्न नपरोस्, प्रमाण देखेर आउनेहरूको मुख रातो होस्,’ उनले भने।

समितिमा प्रस्तुत हुने विषय तथ्य, प्रमाण, कानुन र संविधानमा आधारित हुनुपर्नेमा उनले जोड दिए। संवेदनशील समितिको गरिमा कायम राख्दै प्रस्तुत विषयलाई पछि चुनौती दिन नसक्ने गरी तथ्यपरक ढङ्गले राख्नुपर्ने उनको भनाइ थियो।

संविधान संशोधनका लागि प्रतिनिधिसभामा दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने पनि लामिछानेले बताए। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि दुई तिहाइ पुर्‍याउन आफूहरू तयार रहेको बताएपछि जवाफ दिँदै उनले संविधान संशोधनका संवैधानिक प्रक्रियाका अन्य पक्षलाई समेत ध्यान दिनुपर्ने बताए।

सरकारलाई आवश्यक विषयमा सहयोग गर्ने प्रतिबद्धताको स्वागत गर्दै उनले संवैधानिक निकायमा नियुक्ति संविधानमा व्यवस्था भएअनुसार अधिकतम योग्यताका आधारमा हुनुपर्ने बताए।

कुनै व्यक्तिसँगको असहमति वा विवादका आधारमा संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्न सक्ने उनको भनाइ थियो।

लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका संस्थालाई व्यक्तिप्रतिको असन्तुष्टिका कारण कमजोर बनाउन नहुने भन्दै उनले संस्थाको विश्वसनीयता शून्यमा पुगे लोकतान्त्रिक प्रणाली नै कमजोर हुने बताए।