डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी

डोटी : सरकारले सुरक्षित मातृत्व र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि डोटीमा घरमै सुत्केरी हुने क्रम अझै रोकिएको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जिल्लाका ४३ जना महिलाले स्वास्थ्य संस्था पुग्नुअघि नै घरमै बच्चा जन्माएका छन्।
स्वास्थ्य कार्यालय डोटीका अनुसार साउनदेखि जेठसम्मको अवधिमा नौ स्थानीय तहमध्ये पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी नौ जना महिला घरमै सुत्केरी भएका छन्। तीमध्ये वडा नम्बर ७ का आठ र वडा नम्बर २ का एक जना महिला छन्।
त्यसैगरी आदर्श र बडीकेदार गाउँपालिकामा आठ/आठ जना, सायल गाउँपालिकामा छ जना, दिपायल सिलगढी नगरपालिकामा चार जना, बोगटान फुड्सिल गाउँपालिकामा तीन जना तथा जोरायल र केआई सिंह गाउँपालिकामा दुई/दुई जना महिला घरमै सुत्केरी भएका छन्। शिखर नगरपालिकामा एक जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
सदरमुकाममै रोकिएन घरमै सुत्केरी
जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकामा चार जना महिला घरमै सुत्केरी हुनु संस्थागत सुत्केरी अभियानका लागि थप चुनौतीका रूपमा देखिएको छ। नगरपालिकाभित्र जिल्ला अस्पतालसँगै तीन निजी अस्पताल र सात प्रसूति केन्द्र सञ्चालनमा रहे पनि घरमै बच्चा जन्माउने क्रम पूर्ण रूपमा अन्त्य हुन सकेको छैन।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आवश्यक स्वास्थ्यकर्मी, उपकरण र आकस्मिक उपचारको पहुँच हुने भएकाले आमा तथा नवजात शिशुको सुरक्षाका लागि संस्थागत सुत्केरी अत्यावश्यक छ।
‘घरमै प्रसूति हुँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ,’ जोशीले भने, ‘त्यसैले गर्भावस्थादेखि नै नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामै प्रसूति गराउने विषयमा समुदायस्तरमै सचेतना आवश्यक छ।’
गर्भ जाँचमा पनि कमजोर अवस्था
डोटीमा संस्थागत सुत्केरीको अवस्था मात्र होइन, गर्भावस्थाको नियमित स्वास्थ्य परीक्षणमा समेत अपेक्षित सुधार हुन सकेको छैन।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी कपिलदेव जोशीका अनुसार नयाँ मापदण्डअनुसार गर्भवती महिलाले कम्तीमा आठपटक गर्भ जाँच गराउनुपर्ने भए पनि ४२ प्रतिशत महिलाले मात्रै आठपटकको गर्भ जाँच पूरा गरेका छन्।
प्रसूतिपछि गराउनुपर्ने स्वास्थ्य परीक्षणको अवस्था पनि उस्तै कमजोर देखिएको छ। प्रसूतिपछि चारपटक स्वास्थ्य जाँच गराउने महिलाको संख्या ४४ प्रतिशत मात्रै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य संस्थाको भौतिक पहुँच विस्तार हुँदै गए पनि घरमै सुत्केरी हुने अवस्था कायम रहनुले सेवा उपलब्धतासँगै स्वास्थ्यसम्बन्धी चेतना, नियमित गर्भ जाँच, भौगोलिक कठिनाइ, परिवारको निर्णय प्रक्रिया र स्वास्थ्य संस्थामाथिको विश्वास जस्ता पक्षमा पनि गम्भीर ध्यान दिनुपर्ने देखिन्छ।
सुरक्षित मातृत्वका लागि स्वास्थ्य संस्था र प्रसूति केन्द्रको संख्या बढाउनु मात्रै पर्याप्त नहुने स्वास्थ्यकर्मीहरूको भनाइ छ। गर्भवती महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउने व्यवस्था, नियमित गर्भ जाँच, प्रसूतिपूर्व परामर्श तथा प्रसूतिपछिको निगरानीलाई प्रभावकारी बनाउन सके मात्रै पूर्ण संस्थागत सुत्केरीको लक्ष्य हासिल गर्न सकिने देखिन्छ।





प्रतिकृया दिनुहोस्