August 20, 2026, Thursday
२०८३ भाद्र ४

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, पक्षमा ३१ र विपक्षमा १५

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ साउनमा मुख्यमन्त्री नियुक्त भएका भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन्।

प्रदेशसभामा भएको मतदानमा भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत परेको छ। भट्टलाई एमालेका ११ र नेकपाका २० सांसदले समर्थन गरेका हुन्।

नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले भट्टको पक्षमा मतदान गरेका छन्।

विपक्षमा नेपाली कांग्रेसका १४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १ सांसदले मतदान गरेका छन्। कांग्रेसका पदम शाही, मानबहादुर रावल र मधु भारती भने बैठकमा उपस्थित भएनन्।

५१ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्। कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भइसकेको छ भने अर्का सांसद दीर्घ सोडारी निलम्बनमा छन्।

यससँगै प्रदेशसभामा कायम सदस्यको बहुमत जुटाउँदै भट्ट नेतृत्वको सरकारलाई विश्वासको मत प्राप्त भएको हो।