बझाङमा ४२१ खानेपानी नमुनामा ५५ प्रतिशतमा दिसाजन्य जीवाणु भेटियो

बझाङ : जिल्लाभरका खानेपानीका मुहान, ट्याङ्की र धाराबाट संकलन गरिएका ४२१ नमुनामध्ये आधाभन्दा बढीमा दिसाजन्य जीवाणु (ई–कोली/फिकल कोलिफर्म) भेटिएको छ।
स्वास्थ्य कार्यालय बझाङले हालै सार्वजनिक गरेको ‘खानेपानी गुणस्तर निगरानी–२०८३’ प्रतिवेदनअनुसार जिल्लाभरका ११ वटै स्थानीय तहबाट संकलन गरिएका खानेपानीका नमुनामध्ये ५५.३ प्रतिशतमा दिसाजन्य जीवाणु (ई–कोली/फिकल कोलिफर्म) भेटिएको छ। यसले जिल्लामा पिउने पानीको सुरक्षा, सार्वजनिक स्वास्थ्य र खानेपानी व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रतिवेदनका अनुसार सार्वजनिक धारा, निजी धारा, वडा तथा पालिका कार्यालय, विद्यालय, स्वास्थ्य संस्था र खानेपानी आयोजनाका मुहान तथा ट्याङ्कीबाट संकलन गरिएका ४२१ वटा नमुना प्रयोगशालामा परीक्षण गरिएको थियो। परीक्षणमा आधाभन्दा बढी नमुना राष्ट्रिय मापदण्डअनुसार पिउन अयोग्य देखिएका हुन्।
प्रतिवेदनले जिल्लाका ११ वटै पालिकामा कुनै न कुनै स्तरमा खानेपानी दूषित रहेको देखाएको छ। सबैभन्दा खराब अवस्था मष्टा गाउँपालिकाको छ, जहाँ परीक्षण गरिएका शतप्रतिशत नमुनामा दिसाजन्य जीवाणु भेटिएको छ।
त्यसपछि थलारा गाउँपालिकामा ८० प्रतिशत, दुर्गाथलीमा ७८ प्रतिशत, छबिसपाथिभेरामा ६९ प्रतिशत र जयपृथ्वी नगरपालिकामा ६७.३ प्रतिशत नमुना दूषित पाइएको छ। सबैभन्दा बढी ८७ वटा नमुना संकलन गरिएको बुंगल नगरपालिकामा ६५.५ प्रतिशत नमुना असुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ।
विद्यालय र स्वास्थ्य संस्थामै दूषित पानी
सबैभन्दा चिन्ताजनक पक्ष भने विद्यालय र स्वास्थ्य संस्थाको खानेपानीसमेत सुरक्षित नभएको हो। प्रतिवेदनअनुसार परीक्षण गरिएका ५०.८ प्रतिशत सार्वजनिक विद्यालय र ५६.२ प्रतिशत स्वास्थ्य संस्थाका खानेपानीका नमुनामा दिसाजन्य जीवाणु भेटिएको छ।
मष्टा गाउँपालिकाका विद्यालय तथा स्वास्थ्य संस्थाबाट संकलित सबै नमुना दूषित पाइएको प्रतिवेदनले देखाएको छ। संवेदनशील स्थानमै दूषित पानी प्रयोग भइरहँदा कुनै पनि बेला पानीजन्य रोगको प्रकोप फैलिन सक्ने स्वास्थ्यकर्मीको चेतावनी छ।
जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख डा. प्रशान्त ढुंगानाले बिरामी र बालबालिकाले प्रयोग गर्ने पानीमै संक्रमण भेटिनु अत्यन्त गम्भीर विषय भएको बताए। ‘यो अत्यन्त चिन्ताजनक अवस्था हो,’ उनले भने, ‘जोखिममा रहेका बिरामी र बालबालिकाले प्रयोग गर्ने पानीमै दिसाजन्य जीवाणु भेटिनु स्वास्थ्यका लागि मात्रै होइन, सार्वजनिक स्वास्थ्य व्यवस्थापनकै चुनौती हो।’
डा. ढुंगानाका अनुसार जिल्ला अस्पतालमा आउने बिरामीमध्ये करिब ६० प्रतिशत पानीजन्य संक्रमणसँग सम्बन्धित हुने गरेका छन्। तीमध्ये झन्डै ४० प्रतिशतलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए। उनका अनुसार अस्पतालमा दैनिक करिब दुई सय बिरामी आउने गर्छन्। झाडापखाला, गम्भीर डिहाइड्रेसन, टाइफाइड, जन्डिस, हेपाटाइटिस–ए र ई, आन्द्रामा संक्रमण, घाउ तथा आन्द्रा थुनिने समस्या धेरैजसो दूषित पानीसँग सम्बन्धित हुने गरेको उनको भनाइ छ।
किन दूषित हुँदैछ पानी ?
स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले स्थलगत अध्ययनका क्रममा खानेपानी दूषित हुनुका मुख्य कारण पनि पहिचान गरेको छ।
स्वास्थ्य कार्यालय बझाङका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीका अनुसार अधिकांश मुहानमा बाहिरी फोहोर पानी मिसिने, ट्याङ्की नियमित सफा नगरिने, ढक्कन खुला रहने, पाइपलाइन फुट्ने तथा चुहावट हुने समस्याले पानी दूषित भएको हो। ‘धेरैजसो आयोजनामा खानेपानी सुरक्षासम्बन्धी न्यूनतम मापदण्डसमेत पालना गरिएको छैन,’ उनले भने, ‘उपभोक्ता समितिको निष्क्रियता र नियमित मर्मत–सम्भारको अभाव नै अहिलेको अवस्थाको मुख्य कारण हो।’
परीक्षण गरिएका ४२१ वटै नमुनामा क्लोरिनको मात्रा शून्य पाइएको प्रतिवेदनले देखाएको छ। अधिकांश खानेपानी आयोजनामा नियमित रूपमा पानी शुद्धीकरण नै नगरेको पुष्टि भएको हो।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड–२०७९ अनुसार खानेपानीमा ०.१ देखि ०.५ मिलिग्राम प्रतिलिटर क्लोरिन हुनुपर्ने व्यवस्था छ। तर बझाङका कुनै पनि नमुनामा उक्त मापदण्ड पूरा भएको भेटिएन। त्यसैगरी १२ वटा नमुनामा पानीको पीएच मान पनि राष्ट्रिय मापदण्डभन्दा बाहिर रहेको प्रतिवेदनमा उल्लेख छ। केही नमुना अत्यधिक अम्लीय र केही क्षारीय भेटिएका छन्।
यो समस्या ग्रामीण क्षेत्रमा मात्रै सीमित छैन। सदरमुकाम चैनपुरका करिब १ हजार ५ सय उपभोक्ताले प्रयोग गर्ने खानेपानी पनि दूषित रहेको प्रतिवेदनले देखाएको छ। सेती नदीबाट पम्पिङ गरेर वितरण गरिने उक्त आयोजनाको ट्याङ्की र विभिन्न धाराबाट लिइएका नमुनामा दिसाजन्य जीवाणु भेटिएको हो। विशेषगरी झन्डै दुई हजार विद्यार्थी अध्ययनरत सत्यवादी माध्यमिक विद्यालयको ट्याङ्कीबाट लिइएको नमुनामा संक्रमणको मात्रा अन्य स्थानको तुलनामा निकै बढी भेटिएको प्रतिवेदनमा उल्लेख छ।
चैनपुर साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले स्वास्थ्य कार्यालयको प्रतिवेदनपछि नियमित रूपमा क्लोरिन प्रयोग गरेर पानी शुद्धीकरण सुरु गरिएको बताए। ‘प्रतिवेदन आएपछि हामीले क्लोरिन हाल्ने काम नियमित गरेका छौं,’ उनले भने, ‘अब आफ्नै प्रयोगशाला स्थापना गरेर नियमित परीक्षण गर्ने तयारी पनि गरेका छौं।’
प्रतिवेदनले खानेपानी आयोजनामा नियमित क्लोरिनेसन, ट्याङ्की सफाइ, पाइपलाइन मर्मत, खानेपानी सुरक्षा योजना कार्यान्वयन तथा उपभोक्ता समितिलाई तालिम उपलब्ध गराउन स्थानीय तहलाई सुझाव दिएको छ।
स्वास्थ्यकर्मीले भने खानेपानीको गुणस्तरमा सुधार नआएसम्म पानी उमालेर, फिल्टर गरेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्