कता छन् प्रदेश सभा सदस्य प्रकाश देउवा ? ११ महिनादेखि सेवा-सुविधा भने नियमित बुझ्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्य प्रकाश देउवा ११ महिनादेखि नेपालमा छैनन् । लामो समयदेखि प्रदेश सभाको कुनै पनि बैठकमा उपस्थित नभएका उनी अमेरिकामा रहेका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री देउवा विगत ११ महिनादेखि अमेरिकामा रहेको जानकारी छ । संसदीय गतिविधिबाट टाढा रहे पनि प्रदेश सभा सदस्यका रूपमा पाउने सेवा–सुविधा र तलब भने नियमित रूपमा उनको बैंक खातामा जम्मा भइरहेको प्रदेश सभा सचिवालय जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार हालसम्म देउवामाथि कुनै कानुनी कारबाही प्रक्रिया सुरु नभएकाले उनको सेवा–सुविधा रोक्ने आधार छैन । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले कुनै पनि सांसदबारे प्रदेश सभाबाट अन्यथा निर्णय नभएसम्म सचिवालयले तलब वा अन्य सुविधा रोक्न नमिल्ने बताएका छन् ।
‘उहाँमाथि प्रदेश सभाबाट कुनै निर्णय भएको छैन । त्यसैले नियमअनुसार उहाँले पाउँदै आएको सेवा–सुविधा नियमित रूपमा खातामा पठाइरहेका छौँ,’ सूचना अधिकारी जैसीले भने ।
देउवा २०८२ भदौ २८ गते व्यक्तिगत कामका सिलसिलामा अमेरिका गएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार र आराममा बस्नुपरेको भन्दै उनले २०८२ चैत २३ गते प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका थिए ।
पत्रमा उनले स्वास्थ्य अवस्थाका कारण यसअघि बसेका प्रदेश सभा बैठकमा सहभागी हुन नसकेको र चैत २४ गतेको बैठकमा पनि उपस्थित हुन नसक्ने जानकारी दिएका थिए ।
स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्केर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका थिए, तर उक्त पत्र पठाएको चार महिनाभन्दा बढी बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन् ।
सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा विनासूचना अनुपस्थित रहेमा उसको पद रिक्त हुन सक्ने व्यवस्था छ । यही कानुनी प्रावधानलाई ध्यानमा राख्दै लगातार आठ बैठकमा अनुपस्थित भएपछि देउवाले सभामुखलाई औपचारिक जानकारी गराएका थिए । त्यसपछि पनि उनी प्रदेश सभामा फर्किएका छैनन् ।
देउवा गत वर्ष भदौमा भएको जेनजी आन्दोलन लगत्तै अमेरिका गएका थिए । त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । कांग्रेसका नेताहरू भने स्वास्थ्य र केही व्यक्तिगत कारणले उनी अमेरिकामै रहेको बताउँछन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजासमेत रहेका प्रकाश देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले यसअघि सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
चिसिएको थियो देउवादम्पतीसँग प्रकाशको सम्बन्ध
प्रदेश सांसद हुनुअघि प्रकाश काकी आरजु देउवाका सहयोगी थिए । पछिल्लो समय उनीहरूको सम्बन्धमा केही चिसोपन बढेको जानकारहरू बताउँछन् । प्रकाश निकट कांग्रेस नेताहरूका अनुसार दुई कारणले देउवादम्पतीसँग उनको सम्बन्ध बिग्रिएको थियो । पहिलो, देउवादम्पतीले आफूलाई मुख्यमन्त्री बनाउन पूर्ण सहयोग नगरेको । दोस्रो, सम्पत्तिको ।
‘आरजुले केही सम्पत्ति प्रकाशकी श्रीमतीको नाममा राखेकी थिइन् । प्रकाशले उक्त सम्पत्ति फिर्ता गर्न नमानेपछि देउवादम्पतीसँग पछिल्लो समय उनको सम्बन्ध चिसिएको थियो,’ ती नेताले भने, ‘आफ्नै काकाकाकीको समेत सहयोग नपाउँदा आफू मुख्यमन्त्री बन्नबाट रोकिएको पनि उहाँको बुझाइ थियो, त्यसमा पनि रुष्ट देखिनुहुन्थ्यो ।’ जेन–जी आन्दोलन हुनुभन्दा केही महिनाअघिदेखि नै देउवादम्पतीसँग प्रकाशको सम्बन्ध चिसिँदै गएको ती नेताको भनाइ छ ।
जेन–जी आन्दोलनका वेला प्रकाश काठमाडौंमै थिए । त्यसको दुई दिनपछि काठमाडौंबाट जहाजमा नेपालगन्ज आएका उनी त्यहाँबाट स्थलमार्ग हुँदै दिल्ली पुगेका थिए । दिल्लीबाटै अमेरिका उडेको निकटस्थहरू बताउँछन् । उनका श्रीमती र दुई छोराछोरी एक वर्षदेखि अमेरिकामै छन् ।
२०७९ को निर्वाचनपछि प्रकाशले कांग्रेसको तर्फबाट आफू मुख्यमन्त्री बन्न पहल थालेका थिए । तर, पार्टीले कमल शाहलाई अघि बढायो, उनी मन्त्री बने । २०८० साउनमा तत्कालीन एकीकृत समाजवादी नेतृत्वको प्रदेश सरकार ढलेपछि फेरि एमालेको सहयोगमा सरकारको नेतृत्व पायो, शाह दोस्रोपटक मुख्यमन्त्री बने । त्यति वेला पनि प्रकाशले मुख्यमन्त्री बन्न प्रयास गरेका थिए ।
कांग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार देउवादम्पतीकै उपस्थितिमा अर्को वर्षको बजेट ल्याएपछि शाहले पद छोड्ने र प्रकाशलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो । ‘बजेट पारित गरेपछि प्रकाशलाई मुख्यमन्त्री बनाउने सहमति थियो,’ ती सदस्यले भने, ‘तर, उनले शाह मुख्यमन्त्रीको बनेको आठ/नौ महिनामै आफू मुख्यमन्त्री बन्ने प्रयास थाले । यसमा देउवादम्पतीले साथ दिएनन् । त्यसैले, चिसोपन बढेजस्तो देखिन्थ्यो ।’ तर मुख्यमन्त्री शाह भने यो कुरा स्वीकार गर्दैनन् ।





प्रतिकृया दिनुहोस्