August 6, 2026, Thursday
२०८३ श्रावण २२

निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीले गरे प्रतिप्रश्न- हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ?

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई सदनमा अब निर्मला पन्त प्रकरणका प्रश्न नसोध्न आग्रह गरेका छन् । आज राष्ट्रियसभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त प्रकरणबारे प्रश्न सोधेका थिए ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी प्रश्न सोधेपछि गृहमन्त्री गुरुङले प्रतिप्रश्न गरेका हुन् ।

‘कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडै भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ?,’ विश्वकर्माको प्रश्न छ, ‘यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको उदासीनता हो ? सरकारले हाम्रो चेली निर्मलालाई कहिले सम्म न्याय दिलाउँछ ?’

जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको बताए । निर्मला पन्तको विषयमा सोधिएको प्रश्नमा मन्त्री गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन ? अहिले हामीलाई भारी बोकाउँदा यो मुद्दामा सूक्ष्म अनुसन्धान भइरहेको छ।’ 

बैठकमा निर्मला पन्त हत्याकाण्डको प्रसङ्गमा  गृहमन्त्री गुरुङले आक्रोशित हुँदै ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै रोष्ट्रमबाटै चेतावनीपूर्ण शैलीमा जवाफ दिए ।

मन्त्री गुरुङले पीडित परिवारको घाउलाई सदनमार्फत बारम्बार नकोट्याउन आग्रह गरे । ‘यसको प्रगतिबारे मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला, मसँग उत्तर छ तर यसरी सार्वजनिक रूपमा पटक–पटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिन्छ।’

मन्त्रीको यस्तो जवाफपछि सांसद विश्वकर्माले आपत्ति जनाउँदै संसद्‌मा प्रश्न सोध्न पाउनु आफ्नो विधायकी अधिकार भएको र मन्त्रीले जवाफ दिनै पर्ने अडान राखेका थिए । 

सांसद विश्वकर्माले युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्याका घटना रोक्न सरकारले के गरिरहेको छ भनी अर्को प्रश्न सोधेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यसलाई मानसिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताएका थिए ।

राष्ट्रिय सभा बैठकमा गृहमन्त्री सुधन गुरुङले सांसदहरूलाई प्रश्न नसोध्न दिएको निर्देशनप्रति कांग्रेस सांसदले आपत्ति जनाएका छन् । बैठकमा बेलेका कांग्रेस सांसद रञ्जित कर्णले लोकतान्त्रिक र संसदीय व्यवस्थामा मन्त्रीले सांसदहरूलाई प्रश्न सोध्नबाट रोक्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । 

गृहमन्त्रीले बैठकमा निर्मला पन्त हत्या प्रकरण लगायतका विषयमा प्रश्न नसोध्न र व्यक्तिगत रूपमा भेटेर बुझ्न भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सांसद कर्णले भने- ‘संसदीय व्यवस्थामा जनताको आवाज मन्त्री र प्रधानमन्त्रीसँग सोध्ने माध्यम नै सांसदहरू हुन्। मन्त्रीजीले ‘यो प्रश्न नसोध्नुस्, नसोधिदिनुस्’ भन्नुमा मेरो गम्भीर आपत्ति छ।’

कर्णले दुई तिहाइ नजिकको सरकारका मन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूको जवाफ दिनुको साटो उल्टै सांसदहरूलाई नै प्रश्न नगर्न चेतावनी दिनुले सरकारको जबाफदेहितामाथि प्रश्न उठाएको बताए । ‘मन्त्रीजीलाई सांसदका कुराको जवाफ दिनु जरुरी नहुन सक्छ, तर हामीले प्रश्न सोध्न पाउनुपर्छ, यो हाम्रो अधिकार हो,’ सांसद कर्णले भने ।