सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह तत्काल राजीनामा नगर्ने, नेकपाभित्र किचलो

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह तत्काल राजीनामा नगर्ने भएका छन् । सत्ता साझेदार दल एमालेले सहकार्य तोड्दै समर्थनसमेत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाह तत्काल राजीनामा नदिने मुडमा देखिएका हुन ।
नेकपा एमाले संसदीय दलले असार ३१ मा मुख्यमन्त्री शाहलाई दिइएको समर्थन फिर्ता लिइरसकेको छ । मुख्यमन्त्री अल्पमतमा परिसकेको, एमाले र नेकपाबीच सत्ता सहकार्यको सहमति भइसकेको उल्लेख गर्दै नेकपाले समेत उनलाई मार्गप्रसस्त गर्न भनिसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा अल्पमतमा परे पनि मुख्यमन्त्री शाह तत्काल राजीनामा नगर्ने अडानमा छन् । ‘संवैधानिक व्यवस्थाअनुरूप निर्णय लिन्छु,’ मुख्यमन्त्री शाहले भने, ‘अझै समय छ ।’
सरकार अल्पमतमा परेपछि वा साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने ब्यवस्था छ । मुख्यमन्त्री शाह सोही प्रावधानअनुरूप अघि बढ्ने मनस्थितिमा देखिएका छन् । ‘२८ गतेतिर निर्णय लिनु पर्ला,’ उनले भनेका छन् ।
यसअघि प्रदेशमा सत्ता सहकार्य गरिरहेका एमाले र कांग्रेसबीच सुदूरपश्चिमबाटै खटपट सुरु भएको थियो । बजेट निर्माणमा भागबण्डालाई लिएर सुदूरपश्चिम प्रदेशबाट सुरु भएको दुई दलबीचको खटपट सातवटै प्रदेशमा सत्ता सहकार्य टुट्ने अवस्थामा पुगेपछि एमाले र नेकपाबीच नयाँ समीकरण बनेको थियो ।
सुदूरपश्चिम प्रदेश सरकार हाल बजेट शून्यताको अवस्थामा छ । शाह नेतृत्वको सरकारले असार १ मा ल्याएको बजेट एमालेकै असहयोगका कारण पारित हुन सकेन ।
साउन १ देखि सुदूरपश्चिम सरकार बेखर्ची अवस्थामा छ । बजेट नभएको अवस्थामा प्रदेश सरकारले कुनै पनि खर्च गर्न नपाउने अवस्था छ । ‘अत्यावश्यक खरिदका कार्य उधारोमै गर्नु पने अवस्था छ,’ आर्थिक मामिला मन्त्रालयका उपसचिव धनबहादुर रोकायाले भने, ‘बजेट कहिले आउने हो ठेगान छैन ।’
नेकपाभित्र किचलो, खगराजलाई मुख्यमन्त्रीमा रोक्न मोर्चाबन्दी
नयाँ सरकार गठनको गृहकार्य चलेका बेला सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कम्युनिस्ट पार्टी(नेकपा) आन्तरिक किचलोमा फसेको छ । तत्कालीन माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) बीच एकीकरण भएर नेकपा बनेको थियो ।
एमाले र नेकपाबीच भएको भागबण्डाअनुसार अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।सहमतिअनुसार अहिले नेकपा संसदीय दलका नेता रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भनिएको छ । तर, साविक माओवादी केन्द्रभित्र तत्कालीन समयदेखि रहेको आन्तरिक शक्ति, संघर्षको किचलो फेरि सतहमा आएको छ ।
भट्टलाई मुख्यमन्त्री बन्नबाट रोक्न मानबहादुर धामी पक्ष सक्रिय बनेको छ । स्रोतकाअनुसार १२ माघ २०८० मा भट्टलाई तत्कालीन माओवादी केन्द्रको दल नेताबाट हटाएर आफू बनेका धामीले फेरि सोही खालको शक्ति संघर्षलाई अघि बढाएका छन् ।
केही दिनअघि धामी पक्षले फेरि भट्टलाई दल नेताबाट हटाएर आफू मुख्यमन्त्री बन्ने योजनाअनुसार आन्तरिक गृहकार्य थालेको थियो । उनीहरूले बहुमत पुर्याएर भट्टलाई दल नेताबाट हटाउने खोजेका थिए, तर साविकको नागरिक उन्मुक्ति पार्टी(नाउपा) र एकीकृत समाजवादी पार्टीका सांसदको साथ नपाएपछि रोकिएको स्रोत बताउँछ ।
तत्कालीन समयमा भट्टलाई दल नेताबाट हटाउदा त्यो बेलाका उपनेता रहेका अक्कलबहादुर रावल, मानबहादुर धामी, ओमविक्रम भाट, शिवसिंह ओली, गीतादेवी माल र लक्ष्मी बिक एक ठाउँमा थिए ।
भट्टसहितका रमेश धामी, झपट साउँद र जानकी पौडेल चार जना भने उनको पक्षमा थिए । स्रोतकाअनुसार अहिलेको परिस्थितिमा भने सांसदहरू यताउता भएका छन् । विगतमा भट्टलाई दल नेताबाट हटाउन सक्रिय बनेका केही सांसद भट्टको पक्षमा उभिएका छन् । केही भने धामीतिर सरेका छन् ।
साविक माओवादीभित्रैको संख्याले दल नेता फेरिन स्थिति नदेखिएपछि अहिले उनीहरूबीच मन्त्री पदका लागि हानथाप नै चलेको बताइन्छ । धामीपक्षीय एक सांसदले पनि दल नेता परिवर्तन गर्ने अभ्यास यो बीचमा गरिएको, तर सफल नहुने देखिएपछि पछि हटेको कुरा स्वीकार गरेका छन् ।
मानबहादुर धामी नै माओवादीको दल नेता भएका बेला एकीकरण भएपछि खगराज एकतापछि दलको नेता बनेका थिए । साविक माओवादीमै मन्त्री को बन्ने ? तीव्र दौडधुप चलेका बेला साविक नाउपाले राज्यमन्त्री र दुुई मन्त्री पाउनुुपर्ने अडान पनि राखेको छ ।
साविक एकीकृत समाजवादी पार्टीले पनि सरकारमा सम्मानजनक सहभागिता खोजेको छ । मुख्यमन्त्री खगराज भट्टलाई नै बनाउने अवस्थाबीच पनि नेकपामा पद र शक्ति बाँडफाँडको विषय पेचिलो बन्ने देखिएको छ ।
नेकपाका उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै खालको समस्या नरहेको दाबी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले मार्ग प्रशस्त गरेपछि केन्द्रको सहमतिअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताउँछन् ।
‘बाहिर के—कसरी कुरा आइरहेका छन् ? भन्ने कुराको खासै अर्थ हुदैन् । पार्टीभित्र भनिएजस्तो कुनै खालको समस्या छैन । शीर्ष तहमा नेताहरूबीच छलफल, संवाद जारी छ,’ रावलले भने, ‘मुख्यमन्त्री कमल शाहले मार्ग प्रशस्त गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ ।’





प्रतिकृया दिनुहोस्