August 6, 2026, Thursday
२०८३ श्रावण २२

कांग्रेस आधिकारिकता विवाद- देउवाको निवेदनले निस्सा पायो, सर्वोच्चले सुरुदेखि सुनुवाइ गर्ने

काठमाडौं : नेपाली कांग्रेस आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश उपर शेरबहादुर देउवाले दिएको पुनरवलोकन निवेदन अघि बढ्ने भएको छ ।

प्रधानन्यायाधीश मनोज शर्मा , न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको निस्सा दिने आदेश गरेको हो । सर्वोच्चले पुनरावलोकनको निस्सा अनुमति दिएसंगै कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।

यी न्यायाधीशबाहेक तीन जनाले गर्ने सुनुवाइमा यसअघिको फैसला सदर वा उल्टिने आदेश पनि हुनसक्छ । फैसला उल्टिएको खण्डमा कांग्रेसको असन्तुष्ट समूहले गरेको मागदाबी सहि ठहरिनेछ र विशेष महाधिवेशनले मान्यता पाउँदैन ।

सर्वोच्चको आजको आदेशसँगै गगन थापाले पाएको आधिकारिकतामाथि फेरि सुनुवाइको बाटो खोलेको छ । यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले फैसला पुनरावलोकनको माग गर्दै छुट्टाछुट्टै निवेदन दिएका थिए।  साउन ६ गते देउवा र साउन १२ गते खड्काले यसअघिको फैसलामा त्रुटि भएको दाबी गर्दै पुनरवलोकनको माग गरेर निवेदन दिएका थिए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचितहरूलाई आधिकारिकता दिने  सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ प्राप्त भएपछि देउवा र खड्काले फैसला पुनरवलोकन गर्न माग गर्दै निवेदन दिएका हुन ।

यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गरेको आदेश स्थापित नजिर तथा कानुनी सिद्धान्त एवम् प्रचलित कानुन समेतको प्रतिकूल रहेको दाबी निवेदनमा छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिने निर्णय गरेपछि यो विवाद सर्वोच्चमा पुगेको थियो । सर्वोच्चले कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्च अदालतबाट सदर भएको थियो ।

निर्वाचन आयोगले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि शेरबहादुर र पूर्णबहादुरले आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।