July 29, 2026, Wednesday
२०८३ श्रावण १४

असार मसान्तसम्म खपत गरेको विद्युत् महसुलमा भ्याट नलाग्ने

काठमाडौं : असार मसान्तसम्म उपभोग/खपत गरेको विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर नलाग्ने भएको छ । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै उक्त अवधिमा खपत भएको विद्युत्‌मा मूल्य अभिवृद्धि कर आकर्षित नहुने जनाएको छ ।

“कुनै उपभोक्ताको संवत् २०८३ साल आषाढ ३२ गते सम्मको विद्युत् उपभोग/खपत बापतको विलिङ २०८३ श्रावण वा सो भन्दा पछि भएता पनि २०८३ साल श्रावण १ भन्दा अगाडि उपभोग/खपत भएको विद्युत् शक्तिमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ समूह २: आधारभूत आवश्यकताका वस्तुहरूमा विद्युत् शक्ति (२७१६.००.००) समावेश भएको हुँदा सो अवधिको त्यस्तो सेवा खपतमा मूल्य अभिवृद्धि कर छुट हुने भएकाले मूल्य अभिवृद्धि कर आकर्षित हुने देखिँदैन,” विभागले भनेको छ ।

विभागले आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गरी विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले अन्तिम उपभोक्तालाई ५ प्रतिशत तथा अन्य व्यक्तिको सम्बन्धमा १३ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर असुल गर्ने व्यवस्था गरेको जनाएको छ ।

सोही आधारमा उपभोक्ताको २०८३ साल आसार ३२ गते सम्मको खपतको बिलिङ २०८३ साल साउन १ गते भएको खण्डमा मू.अ. कर आकर्षित हुने वा नहुने भन्नेमा अन्योल भएको जनाइएको छ ।

त्यस्तै ०८३ साउन १ गतेदेखि जारी गरिएको कर बिजकमा न्यूनतम चार्ज वा डिमान्ड चार्जमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने सम्बन्धमा सर्वसाधारण, उपभोक्ता तथा कतिपय व्यवसायीहरूमा अन्योल र द्विविधा उत्पन्न भएको भन्दै विभागले यस्तो जानकारी दिएको हो ।