July 21, 2026, Tuesday
२०८३ श्रावण ५

नेकपा नेता जुटे आन्तरिक छलफलमा, प्रदेश सत्तासमीकरणका विषयमा प्रचण्डले आजै ओली र गगनलाई भेट्ने

काठमाडौं : प्रदेशमा सत्तासमीकरणका विषयमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता आन्तरिक छलफलमा जुटेका छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता युवराज दुलालका अनुसार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको कोलम्बोबाट स्वदेश फर्किएसँगै पार्टीभित्र आन्तरिक छलफलमा जुटेका हुन ।

आन्तरिक छलफलपछि दुवै दल नेकपा (एमाले) र नेपाली कांग्रेसलाई धारणा दिने नेकपाको तयारी रहेको उनले बताए । दुवै दलले नेकपालाई प्रदेशमा सत्तासाझेदारीका निम्ति प्र्रस्ताव गरेका छन् ।

नेकपाले कसैलाई पक्ष, विपक्ष बनाएरभन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखिसकेको छ । नेकपाका प्रदेशस्तरका नेताले सत्तासमीकरणका बारेमा कांग्रेस र एमालेसँग सामान्य छलफल गरिरहेको उनको भनाइ छ ।

पार्टीभित्र शीर्ष नेतृत्वबीच छलफलपश्चात् एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति गगन थापालाई प्रचण्डले नेकपाको धारणा राख्ने पनि नेता दुलालले बताए ।

सुदूरपश्चिम प्रदेशमा बजेटलगायत विषयमा कुरा नमिलेपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेतर्फका मन्त्रीहरूलाई बर्खास्त गरेर नेकपासँग समीकरणको प्रयास गरेका छन् । अरू प्रदेशमा पनि संकट देखिएको छ ।

२ वर्षअघि नेकपा एमाले र नेपाली कांग्रेसबिच केन्द्रसहित प्रदेशमा गठबन्धन बनेको थियो । सोही गठबन्धनअनुसार समय सकिएकाले बाँकी कार्यकाल प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने दुवै दलभित्र आवाज उठिरहेको छ । सोही अनुसार सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेको अवस्था छ भने कर्णाली प्रदेशमा कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका छन् । यता बागमती प्रदेशबाट एमालेका मन्त्रीहरू बाहिरिएर कांग्रेस नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने योजना रहे पनि सोमबार बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकाल्दै ‘पर्ख र हेर’ को नीति लिएको छ ।  

प्रदेशमा कांग्रेस एमाले गठबन्धन भत्कन सुरु भएपछि दुवै दलले नेकपालाई साथमा लिएर सरकार बनाउने र चलाउने प्रयत्न गरिरहेका छन् । तर, नेकपाले यसअघि सत्ताको खेलमा नलाग्ने बताउँदै आएकाले उसलाई पनि तत्कालै निर्णय गर्न कठिन भएको छ । अर्कोतर्फ नेकपाका कतिपय नेताहरूले समेत प्रदेशको सत्ता समीकरणमा पार्टी लाग्न नहुने भन्दै विरोध गरिरहेका छन् । उनीहरूले प्रदेश सरकारहरू अस्थिर बन्दा समग्र संघीयताप्रति नै नागरिकमा असन्तोष बढ्ने भएकाले सत्ताको खेलमा नलाग्न नेकपाको नेतृत्वलाई खबरदारी गरिरहेका छन् ।

यस्तो अवस्थामा संयोजक प्रचण्डले पनि सकभर एमाले कांग्रेस नै मिलेर प्रदेशमा सरकार चलाउनुपर्ने भन्दै आएका छन् । तर, कांग्रेस एमाले मिल्दै नमिल्ने अवस्थामा र थप दुर्घटना हुन नदिन नेकपाले साथ दिनुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड आइतबार दिउँसो काठमाडौँ ओर्लेसंगै साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेश समीकरणबारे टेलिफोन संवाद गरेका थिए । त्यसैगरी सोमबार बिहान प्रचण्डले पार्टीका सहसंयोजक माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर छलफल गरेका छन् । नेता नेपाल केही दिनदेखि रुघाखोकी र सामान्य जरो आएकाले निवासमै आराम गरिरहेका छन् ।

नेता नेपाललाई भेटेर प्रचण्डको स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रदेशमा नयाँ सत्ता समीकरणबारे छलफल गरेका छन् । नेकपाका नेताहरुका अनुसार कोटेश्वर भेटमा प्रचण्ड र नेपालबिच देशको पछिल्लो राजनीतिक अवस्थासहित प्रदेशहरूमा कांग्रेस एमालेबिचको खटपट र उनीहरूले नेकपालाई सरकारमा आउन गरेको आग्रहबारे छलफल भएको बताइएको छ । 

‘प्रदेशको सत्ता परिवर्तन मात्र होइन, पछिल्लो राजनीतिबारे दुई नेताबिच कुराकानी भएको छ’, नेपाल निकट एक नेताले भने, ‘बदलिँदो राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने भन्ने नै कुराकानीको मूल विषय हो ।’

नेपालपछि संयोजक प्रचण्डले सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने तय भए पनि समय निश्चित भैसकेको छैन । प्रचण्ड निकट स्रोतले भन्यो, ‘सोमबार साँझतिर अध्यक्ष ओली र संयोजक प्रचण्डबिच भेटवार्ता गर्ने तयारी छ ।’

ओलीपछि प्रचण्डले कांग्रेस सभापति गगन थापासँग समेत भेटवार्ता गर्ने तयारी गरेको बताइएको छ । प्रचण्ड श्रीलंका भ्रमणमा रहेका बेला नेता वर्षमान पुन र प्रमेश हमालले एमाले अध्यक्ष ओलीलाई भेटेर प्रदेशको बदलिँदो समीकरण बारे जिज्ञासा राखेका थिए ।