July 29, 2026, Wednesday
२०८३ श्रावण १३

कांग्रेसले शोकमा ३ दिनसम्म झण्डा आधा झुकाउने, श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू

काठमाडौं : नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृहजिल्ला (स्याङ्जा) को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको छ ।

आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू

कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शवमा श्रद्धाञ्जली अर्पण विभिन्न दलका नेताहरू सानेपा पुगेका छन् ।

श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रबि लामिछाने, ननेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेका हुन् ।

श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।