निर्वाचन आयोगले पायो पूर्णता, प्रमुख निर्वाचन आयुक्तसहित प्रस्तावित दुई आयुक्त अनुमोदित

काठमाडौं : निर्वाचन आयोगका प्रस्तावित आयुक्तहरू पनि संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन् । बुधबार बसेको सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम अनुमोदन गरेको हो ।
संवैधानिक परिषदले तीन जना आयुक्तहरूको नाम सिफारिस गर्ने निर्णय गरेपछि संसदीय सुनुवाइ समितिमा सुनुवाइ गरी ती नामहरू अनुमोदन गरिएको हो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको बाटो खुला भएको छ ।
प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन भएका कार्की महान्यायाधीवक्ता कार्यालय र सर्वोच्च अदालतमा कार्यरत थिए। उनी सर्वोच्चको रजिस्ट्रार पनि थिए।
पाँच सदस्यीय आयोगमा हाल डा. जानकीकुमारी तुलाधर र सगुन शमशेरण जबरामात्र छन् । आगामी दिनमा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितमात्र होइन, प्रविधिमैत्री गराउन आवश्यक प्रबन्ध गर्नुपर्ने दायित्व आयोगका पदाधिकारीको काँधमा छ ।
अबको १० महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले पनि आयोगको नेतृत्वले पदबहाली गरेको दिनबाटै आवश्यक काममा ध्यान दिनुपर्ने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूको सुझाव छ ।





प्रतिकृया दिनुहोस्