July 25, 2026, Saturday
२०८३ श्रावण ९

डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

धनगढी : डोटीको सायल गाउँपालिकाले सञ्चार सेवाबाट लामो समयदेखि वञ्चित रहेको वडा नम्बर १ छपालीमा नेपाल टेलिकमको मोबाइल टावर निर्माण गर्न माग गरिएको छ ।

गाउँपालिका अध्यक्ष धर्मराज जोशीले नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेश निर्देशनालय, अत्तरियाका प्रमुख बृजेश शर्मालाई अनुरोधपत्र सहित माग गरेका हुन ।

गाउँपालिकाको अनुरोधपछि नेपाल टेलिकमले आगामी १० दिनभित्र प्राविधिक टोली खटाएर स्थलगत अध्ययन गर्ने प्रतिबद्धता जनाएको छ।

गाउँपालिका अध्यक्ष जोशीले नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेश निर्देशनालय, अत्तरियाका प्रमुख शर्मालाई अनुरोधपत्र बुझाउदै वडा नम्बर १ भौगोलिक रूपमा अत्यन्त विकट तथा दुर्गम भएकाले हालसम्म नेपाल टेलिकमको टावर निर्माण हुन नसकेको उल्लेख गरेका छन्। टावर नहुँदा स्थानीय बासिन्दा छिमेकी जिल्लाबाट आउने कमजोर सिग्नलमा निर्भर रहन बाध्य भएको पत्रमा जनाइएको छ।

अध्यक्ष जोशीका अनुसार कमजोर नेटवर्कका कारण फोन गर्न पटक/पटक प्रयास गर्नुपर्ने, आएको फोन रिसिभ नहुने तथा इन्टरनेट सेवा प्रभावकारी रूपमा सञ्चालन नहुने समस्या वर्षौंदेखि रहँदै आएको छ। यसको प्रत्यक्ष असर स्थानीय नागरिकको सूचना तथा सञ्चार पहुँचमा मात्र नभई वडा कार्यालयबाट प्रदान गरिने दैनिक प्रशासनिक सेवामा समेत परेको उनले बताए।

गाउँपालिकाले टेलिकम टावर निर्माण गरी यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रह गर्दै सञ्चार पहुँच सुनिश्चित गर्न आवश्यक पहल गरिदिन अनुरोध गरेको हो । उक्त पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारीलाई समेत पठाइएको छ।

अनुरोधपत्र बुझ्दै नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेश निर्देशनालय प्रमुख बृजेश शर्माले समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्। उनले उक्त क्षेत्रमा डोटीका प्रतिनिधि सभा सदस्य तथा लेखा समिति सभापति भरत बहादुर खड्काले समेत पत्र पठाएको स्मण गर्दै आगामी १० दिनभित्र प्राविधिक टोली खटाएर सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन गरिने र अध्ययन प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने जानकारी दिए।

`दुर्गम क्षेत्रका नागरिकलाई सञ्चार सेवाबाट वञ्चित हुन दिनु हुँदैन। सेवा विस्तारका लागि नेपाल टेलिकम प्रतिबद्ध छ´ प्रमुख शर्माले भने।

स्थानीयवासीका अनुसार सञ्चार सेवा कमजोर हुँदा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा सरकारी सेवा प्राप्तिमा समेत कठिनाइ हुँदै आएको छ। उनीहरूले सम्बन्धित निकायले टेलिकम टावर निर्माणको प्रक्रिया शीघ्र अघि बढाई विश्वसनीय सञ्चार सेवा उपलब्ध गराउन माग गरेका छन्।