रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री

काठमाडौं : रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री सहभागी भएका छैनन् । सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी छैनन् ।
सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा विपक्षी दलका नेताहरूले देशमा यति ठुलो संकट उत्पन्न हुँदासमेत सरकार अझै जिम्मेवार, सक्रिय र संवेदनशील बन्न नसकेकोमा चिन्ता ब्यक्त गरे।
सरकारको नेतृत्वकर्ता दल रास्वपाका सभापतिले आह्वान गरेकै बैठकमा प्रधानमन्त्री र गृहमन्त्री सहभागी नभएपछि प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री शाह र उनले नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।
सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । तराई-मधेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । तर, सोही विषयमा छलफल गर्न बसेको बैठकमा समाचार तयार पार्दा सरकारका तर्फबाट मुख्य जिम्मेवार मन्त्रीहरूको उपस्थिति छैन ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सहभागी भएका छन् ।





प्रतिकृया दिनुहोस्