July 29, 2026, Wednesday
२०८३ श्रावण १३

सर्वदलीय बैठक : ९ दलको ७ बुँदे अपिल, शान्तिपूर्ण संवाद र सहमतिको आह्वान

काठमाडौं : सुनसरीलगायतका जिल्लामा विकसित घटनालाई लिएर राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि सामूहिक अपिल जारी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले डाकेको बैठकपछि ९ वटा दलका प्रमुख तथा प्रतिनिधिले ७ बुँदे अपिल निकालेका हुन् ।

संयुक्त अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै दलहरू एकताबद्ध रहेको सन्देशसहित उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न तयार रहेको संकल्प गरिएको छ ।

‘सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ,’ दलहरूले भनेका छन् ।

प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न पार्टीका तल्ला कमिटीहरूलाई निर्देशन दिइएको छ । स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन पनि आग्रह गरिएको छ ।

संवेदनशील समयमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ साथै सञ्चारमाध्यमहरूलाई संयमित र तथ्यपरक सूचना सम्प्रेषणका लागि आग्रह गरिएको छ ।

नागरिकको जीउधनको रक्षा गर्नु राज्यको दायित्व भएकोले संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।