मृत्युसँग जुधेको कर्णाली अब चिकित्सक उत्पादनको केन्द्र, जुम्लाबाट पहिलो पटक १८ एमबिबिएस डाक्टर स्नातक

जुम्ला : कुनै समय कर्णालीमा बिरामी हुनु नै मृत्युको जोखिमसँग जुध्नुजस्तै मानिन्थ्यो। राति सर्पले टोकेका बिरामी बिहान अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने निश्चित हुँदैनथ्यो।
प्रसूति व्यथा लागेका महिलालाई डोकोमा बोकेर घण्टौँ उकालो–ओरालो हिँडाउनुपर्ने अवस्था थियो। सामान्य शल्यक्रिया त परको कुरा, ज्वरो, निमोनिया वा दुर्घटनामा परेका बिरामीसमेत जिल्ला अस्पतालबाट सुर्खेत वा नेपालगञ्ज रेफर गरिन्थे। उपचारभन्दा पहिले दुर्गम बाटो पार गर्नुपर्ने बाध्यता धेरैका लागि अन्तिम यात्रासमेत बन्ने गरेको थियो।
त्यतिबेला स्वास्थ्य संस्थाका भवन भए पनि चिकित्सकको अभाव थियो। दरबन्दी भए पनि डाक्टर नहुने, भएका चिकित्सक पनि काज मिलाएर सुविधा सम्पन्न सहरतिर बस्ने प्रवृत्ति सामान्य थियो। अस्पतालहरू स्वास्थ्य सहायक (एचए), अहेब, स्टाफ नर्स र अनमीकै भरमा सञ्चालन भइरहेका थिए। कर्णालीका लागि ‘विशेषज्ञ उपचार’ भन्ने शब्द नै लगभग अपरिचित थियो।
तर, अहिले परिस्थिति फेरिएको छ। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नै भूमिबाट १८ जना एमबिबिएस चिकित्सक उत्पादन गर्दै इतिहास रचेको छ। कुनै बेला चिकित्सकको प्रतीक्षामा रहेका अस्पतालहरू अब आफ्नै डाक्टर उत्पादन गर्ने तहमा पुगेका छन्। यो केवल शैक्षिक उपलब्धि मात्र नभई दशकौँसम्म राज्यको उपेक्षामा परेको भूगोलले आत्मनिर्भर स्वास्थ्य प्रणालीतर्फ चालेको ऐतिहासिक फड्कोका रूपमा हेरिएको छ।
२०६८ सालमा प्रतिष्ठान स्थापना हुँदा धेरैले ‘जुम्लामा पनि मेडिकल कलेज चल्ला र?’ भन्ने प्रश्न उठाएका थिए। दुर्गम भूगोल, कमजोर सडक, सीमित पूर्वाधार र जनशक्तिको अभावका बीच सुरु भएको यात्रा अहिले सार्थक बनेको छ। २०७८ सालमा एमबिबिएस अध्यापनको अनुमति पाएपछि भर्ना भएको पहिलो ब्याच चिकित्सकका रूपमा स्नातक बनेर नयाँ इतिहास रच्न सफल भएको हो।
यो उपलब्धि एउटा संस्थाको सफलता मात्र होइन, कर्णालीको सामाजिक मनोविज्ञानमा आएको परिवर्तनको संकेत पनि हो। विगतमा आफ्ना छोराछोरीलाई डाक्टर बनाउन काठमाडौं वा भारत पठाउन नसक्ने अभिभावकका लागि अहिले जुम्लामै चिकित्सा शिक्षा सम्भव भएको छ। अझ अहिले कर्णालीका मात्र होइन, तराई, पूर्वी नेपाल र भारतसम्मका विद्यार्थी जुम्लामा एमबिबिएस अध्ययन गरिरहेका छन्।
सिराहाकी नुरुजाह खातुन कर्णालीप्रतिको धारणा बदलेको अनुभव सुनाउँछिन्। उनी भन्छिन्, “तराईमा हुँदा कर्णाली निकै टाढा र कठिन ठाउँजस्तो लाग्थ्यो। यहाँ आएपछि मेरो धारणा नै बदलियो। जुम्लाबाट एमबिबिएस पढ्न पाउनु जीवनकै ठूलो अवसर बन्यो।”
रूपन्देहीका समिरराज जोशी पनि पहिलो ब्याचका स्नातकमध्ये एक हुन्। उनका अनुसार जुम्लाबाट चिकित्सक उत्पादन हुनु नेपालको चिकित्सा शिक्षाको विकेन्द्रीकरणको सबैभन्दा बलियो उदाहरण हो। यद्यपि पूर्वाधार र सडक सुधार नगरेसम्म प्रतिष्ठानले आफ्नो पूर्ण क्षमता हासिल गर्न नसक्ने उनको भनाइ छ।
वैतडीकी हेमलता चन्दका लागि यो यात्रा केवल डिग्री प्राप्त गर्ने अवसर थिएन। उनी भन्छिन्, “सुरुमा हामी निकै थोरै थियौँ। नयाँ ठाउँ र नयाँ वातावरण थियो। अहिले प्रतिष्ठान विद्यार्थीले भरिएको देख्दा कर्णाली साँच्चै बदलिँदै रहेछ भन्ने अनुभूति हुन्छ।” उनी दुर्गम क्षेत्रको स्वास्थ्य सेवा र शिक्षाबारे अध्ययन गर्ने अवसर पाएको बताउँदै प्रतिष्ठानको पढाइ गुणस्तरीय रहेको र शिक्षक तथा कर्मचारीको मेहनत प्रशंसनीय भएको उल्लेख गर्छिन्।
प्रतिष्ठानका उपकुलपति डा. सुर्यमान मेन्याङ्बोका अनुसार पहिलो ब्याचबाट चिकित्सक उत्पादन हुनु कर्णाली मात्र होइन, सम्पूर्ण मुलुककै लागि ऐतिहासिक क्षण हो। उनका अनुसार अब हिमाली क्षेत्रले चिकित्सक माग्ने मात्र होइन, चिकित्सक उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्न थालेको छ।
प्रतिष्ठानका सहायक प्राध्यापक डा. लोकजनसिंहका अनुसार हाल छैटौँ ब्याच अध्ययनरत छ। पहिलो ब्याचमा २०, दोस्रो र तेस्रोमा ३०–३० तथा चौथोदेखि छैटौँसम्म ५०–५० विद्यार्थी अध्ययनरत छन्। हाल प्रतिष्ठानमा दुई सय ३० भन्दा बढी विद्यार्थी एमबिबिएस अध्ययन गरिरहेका छन्। सरकारले सिट सङ्ख्या थपे कर्णालीबाट अझ धेरै चिकित्सक उत्पादन हुने अपेक्षा गरिएको छ।
यद्यपि उपलब्धिसँगै चुनौतीहरू अझै बाँकी छन्। अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, सुपर स्पेसालिटी सेवा, विशेषज्ञ प्राध्यापक, सहज सडक पहुँच र आधुनिक पूर्वाधारको अभाव अझै महसुस भइरहेको छ। चिकित्सा शिक्षा सुरु हुनु एउटा महत्वपूर्ण कोसेढुंगा भए पनि यसलाई दीर्घकालीन उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नु अझ ठूलो जिम्मेवारी रहेको सरोकारवालाको भनाइ छ।
संविधानसभा सदस्य तथा प्रतिष्ठान स्थापनाका अभियन्ता नरेश भण्डारी भन्छन्, “हिजो कर्णालीले डाक्टर खोज्थ्यो, आज डाक्टर उत्पादन गरिरहेको छ। यो एउटा संस्थाको उपलब्धि मात्र होइन, कर्णालीको आत्मविश्वासको पुनर्जन्म हो।”
वास्तवमा, पहिलो ब्याचका १८ चिकित्सकको सफलता केवल परीक्षा उत्तीर्ण गरेको उपलब्धि होइन। यो दशकौँसम्म उपचारको अभाव, राज्यको उपेक्षा र भौगोलिक कठिनाइसँग संघर्ष गरेको कर्णालीले इतिहाससँग गरेको मौन तर शक्तिशाली प्रतिवाद हो।
कुनै बेला बिरामीको ज्यान बचाउन कर्णालीबाट हेलिकोप्टर खोजिन्थ्यो। आज त्यही कर्णालीले जीवन बचाउने चिकित्सक उत्पादन गर्न थालेको छ। यही परिवर्तनले कर्णालीको स्वास्थ्य इतिहासमा नयाँ अध्याय थपेको छ।
नागरिकबाट





प्रतिकृया दिनुहोस्