April 17, 2026, Friday
२०८३ बैशाख ४

खोप लगाएपछि शिशुको मृत्यु

डोटी मंसिर १८ (ई-रैवार)
खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाती प्रविण मल्लको ज्यान गएको हो ।
उनलाई मंगलबार दुईबजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप केन्द्रमा खोप लगाईएको थियो । जसमा ‘डिपिटी पेण्टा’ तेस्रो डोज, ‘एफआईपिभि’ दोस्रो डोज र ‘ओपिभी’ तेस्रो डोज गरी तिनवटा खोप लगाईएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जनाए ।
खोप लगाएपछि मंगलबार राती सुतिरहेको बेला अकस्मात मृत्यू भएको परिवारस्रोतले जनाएको छ । मृतक प्रबिणका बाजे मल्लले खोपकै कारण नाती मृत्यु भएको बताएका छन् ।
मृत्युको कारणबारे पोष्टमार्टमपछि मात्रै भन्न सकिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । ‘दुषित भ्याक्सीनले समस्या सिर्जना हुनसक्ने अवस्था लाखौमा बिरलै हुन्छ,’ उनले भने,‘त्यसको अवस्था हेर्नपनि खोप लगाएको आधाघण्टासम्म खोपकेन्द्रमै बच्चा राखिन्छ । त्यतिञ्जेल केही भएन । राती मृत्यु भएछ ।’
दुषित भ्याक्सीन कारण भएको भए अरु बच्चामा पनि समस्या देखिनसक्ने उनले बताए । उनले भने,‘अरुमा देखिएको छैन् । तैपनी पोष्टमार्टमपछि कारण थाहा होला ।’
यसअघि २०६९ भदौ ३ गते डोटीकै काँडामाण्डौमा दुषित दादुराको खोप लगाउदा ४ जना बालबालिकाको मृत्यु भएको थियो ।