July 25, 2026, Saturday
२०८३ श्रावण १०

सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक

सुदूरपश्चिम : असारको एक बिहान साइपाल गाउँपालिकाको जाडलेकसम्मको कच्ची सडकमा धूलो उडाउँदै एउटा जिप उकालो लागिरहेको थियो । जिपमा बझाङ, धनगढी र डडेलधुराबाट आएका आन्तरिक पर्यटक थिए । उनीहरूको गन्तव्य थियो– साइपाल हिमालको दक्षिणी बेसक्याम्प, औलागाड, पश्चिमी बेसक्याम्प राइढुगी हुँदै हिमालले घेरेको माजा उपत्यका । 

सामाजिक सञ्जालमा देखेको मनमोहक दृश्य आँखा अगाडि हेर्ने उत्साह उनीहरूमा थियो । धलौनबाट सुरु भएको पदयात्रा काकरकोट हुँदै दक्षिणी र पश्चिमी बेसक्याम्पसम्म सहजै पुग्यो । तर पश्चिमी बेसक्याम्पबाट करिब चार घण्टाको दूरीमा रहेको माजा उपत्यकातर्फ लागेपछि उनीहरूको यात्रा बाटोमै रोकियो । राइढुगीबाट गडुल हिमालतर्फ जाने साँघुरो डोरेटो केहीबेरसम्म पछ्याए पनि त्यसपछि बाटो नै हरायो । 

एउटा पाइला अड्याउन मिल्ने साँघुरो गोरेटो, दुवैतिर भीर र बीचमा झाडी । अन्ततः टोली जोखिम मोल्न नसकेर फर्कियो । ‘एउटा मात्रै पाइला अड्याउन मिल्ने बाटो थियो । झार समात्दै अघि बढ्यौं, त्यसपछि त पाइला टेक्ने ठाउँसमेत भेटिएन,’ टोलीका सदस्य वीरबहादुर धामीले भने, ‘तल हेर्दा भीर मात्रै थियो । केही साथीलाई रिंगटा लाग्यो । ज्यान जोखिममा पार्नुभन्दा फर्किनु नै ठीक लाग्यो ।’ 

यस्तो ठाउँमा सामान्य पदमार्गको संकेत मात्रै भए पनि बाटोकै अभावमा बीचैबाट फर्किनुपर्दा यात्रा अधुरो भएको धामीले सुनाए । यस्तो दृश्य अहिले माजामा मात्रै होइन, पश्चिममा थुप्रै गन्तव्यमा सामान्यजस्तै भएको छ । सुन्दर आकर्षक प्राकृतिक भूदृश्य सामाजिक सञ्जालमा देखेर यहाँ पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढिरहेको छ । तर पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा नयाँमा मात्रै होइन, चल्तीकै गन्तव्य साइपाल, अपि र खप्तड पुग्ने पर्यटकले पनि त्यहाँको सौन्दर्यसँगै केही न केही गुनासो बोकेर फर्किनुपर्ने बाध्यता छ । जसले गर्दा प्राकृतिक सम्पदाले विश्वस्तरको सम्भावना बोकेका यी गन्तव्यमा बढ्दो आकर्षणबीच कमजोर पूर्वाधारका कारण अपेक्षा गरेअनुसार पर्यटकीय चहलपहल बढ्न सकेको छैन । 

केही वर्षअघिसम्म सीमित पदयात्री र अनुसन्धानकर्ताको रोजाइमा पर्ने खप्तड, साइपाल र अपि अहिले युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकलगायत सामाजिक सञ्जालका कारण चर्चामा छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेसबुकमा अपि हिमालको बेसक्याम्पमा क्रिकेट खेल्दै गरेको छोटो भिडियो पोस्ट गरेपछि यहाँको चर्चा एकाएक चुलिएको थियो । सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा स्विट्जरल्यान्डको बाउ भन्दै बडिमालिकाबारे प्रधानमन्त्री वालेन्द्रले बोलेपछि बडिमालिका पनि सामाजिक सञ्जालमा एकाएक भाइरल भएको थियो । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले पनि यी गन्तव्यमा पछिल्ला वर्षमा पर्यटकको संख्यामा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा २९ जना विदेशी पर्यटकसमेत अपि नाम्पा संरक्षण क्षेत्रमा पुगेको विभागको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अपि हिमाल बेसक्याम्पसम्म मात्रै ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको दार्चुलाको अपि हिमाल गाउँपालिकाको तथ्यांक छ । 

‘निकुञ्ज विभागका कर्मचारीले सदरमुकाममा बसेर राखेको रेकर्ड यहाँ आउने पर्यटकको संख्या धेरै फरक छ,’ अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे बोहराले भने, ‘तीन वर्षयता वर्षमा डेढ सय जना विदेशीसहित ५ हजारभन्दा बढी पर्यटक अपि पुगेको पालिकाको तथ्यांक छ ।’ 

सुदूरपश्चिमका हिमाली जिल्लाका अरू गन्तव्यभन्दा अपि बेसक्याम्प पदयात्रा मार्गमा व्यवस्थित पूर्वाधार भएको पर्यटकको अनुभव छ । अपि पदयात्रा मार्गमा बेसक्याम्पसम्म पुग्ने सुरक्षित पदमार्ग निर्माण गरिएको छ । बेसक्याम्पसहित पदयात्रा मार्गमा ४ गेस्ट हाउस र ४ चिया पसल सञ्चालनमा छन् भने यही रुटमा पर्ने ५ वटा गाउँमा होमस्टे सञ्चालनमा छन् । तथापि अहिले भएको पूर्वाधारले यहाँ पुग्ने पर्यटकको चाप धान्न नसकेर समस्या हुने गरेको अध्यक्ष बोहरा बताउँछन् । 

सुदूरपश्चिमको अर्को चर्चित गन्तव्य खप्तड पुग्नेको संख्या पनि प्रत्येक वर्ष बढिरहेको छ । निकुञ्ज विभागको प्रतिवेदनअनुसार २०६९/७० देखि २०७४/७५ सम्म वर्षमा १९ देखि ४६ जना पर्यटक पुग्ने खप्तड निकुञ्जमा २०७५ यता प्रत्येक वर्ष ३ हजार हाराहारी पर्यटक पुगेका छन् ।

यहाँ पुग्ने पर्यटकले पनि उपयुक्त आवासको सुविधा नहुँदा संख्या बढी भएका बेला चिसोमा रात बिताएको नमीठो अनुभव बोकेर फर्किनुपरेका थुप्रै उदाहरण छन् । बाटोमा पर्याप्त संकेत चिह्न नहुँदा कतिपय पर्यटक बाटो बिराएर हराएका घटना पनि छन् । 

अर्कोतिर राज्यको ठूलो लगानीमा यहाँ निर्मित संरचना प्रयोगै नभएर जीर्ण हुने गरेका छन् । यसको पछिल्लो उदाहरण खप्तडमा पर्यटकको आवास सुविधाका लागि बनेको सुविधा सम्पन्न भनिएको भवन बनेको छ । निकुञ्जको मुख्य ब्यारेक नजिक ८० बेड र डोटीको बाटो भएर आउजाउ गर्ने पर्यटकका लागि बिचपानीमा निर्माण गरिएको २० बेड क्षमताका आठ वटा भवन सात वर्षदेखि अलपत्र छन् । 

१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले बास बस्न मिल्ने भवन निर्माणको ठेक्का प्रक्रिया २०७६ सालमै सुरु भएको थियो । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा भवन निर्माणका लागि विनियोजन गरेको ५ करोड रकमबाट खप्तड राष्ट्रिय निकुञ्जले ठेक्का खोलेर प्रिफ्याब प्रविधिमा आधारित भवन बनाएको थियो । चिसो वातावरणमा पनि कोठाभित्र न्यानो बनाउन सक्ने प्रविधि भएका यी भवन निर्माण भएको पनि तीन वर्ष पूरा हुन लाग्यो । तर यहाँ पुग्ने पर्यटकले रातभर चिसोमा सुत्ने र बिहान यी भवन अगाडि फोटो खिच्नुपर्ने बाध्यता छ । 

‘यी भवन छिटो प्रयोगमा ल्याइदिनुपर्‍यो भनेर हामीले निकुञ्जका प्रमुख संरक्षण अधिकृतदेखि विभागसम्म अनुरोध गरेको गर्‍यै छौं,’ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेम जोशी भन्छन्, ‘कार्यविधि बन्दै छ भनेर टार्ने काम गरिरहेका छन् । सञ्चालनमा नआउँदै भवन चुहिन थालिसके ।’ 

सुदूरपश्चिम प्रदेशको अर्को प्रमुख गन्तव्य साइपाल पुग्नेको संख्या पनि सालिन्दा बढ्दो छ । कोरोना महामारीअघिसम्म वार्षिक एक/डेढ सय पर्यटक पुग्ने साइपाल क्षेत्रमा अहिले महिनामै तीन/चार सयसम्म पुग्ने गरेको साइपाल गाउँपालिकाको तथ्यांक छ । यहाँ पुग्नेहरूले पनि पूर्वाधार अभावकै समस्या झेल्नुपरेको छ । 

बाढी र पहिरोले भत्काएका पदमार्गको समयमै मर्मत नगर्दा केही ठाउँमा जोखिम छ । कतिपय ठाउँमा सुरक्षित पुलको अभावमा साँघुको सहारामा जोखिमपूर्ण तरिकाले खोला तर्नुपर्ने अवस्था छ । साइपाल बेस क्याम्पभन्दा झन्डै आधा दिन तल पर्ने दोतलेसम्म बास बस्ने व्यवस्था भए पनि बेसक्याम्प क्षेत्रमा बस्न चाहनेले टेन्ट बोकेर जानुपर्छ । दोतले भन्दा माथि बास बस्न मिल्ने संरचना बनाउने तयारी भइरहेको साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए । 

काठमाडौंबाट खप्तड पुग्न दुईदेखि तीन दिन लाग्छ । बझाङ, बाजुरा, डोटी र अछाम भएर यहाँ पुग्न सकिन्छ । साइपाल बेसक्याम्प पुग्न धनगढीदेखि बझाङ सदरमुकाम हुँदै साइपाल गाउँपालिकाको धलौनसम्म जिप र त्यहाँबाट डेढ दिन पदयात्रा सुरु गर्नुपर्छ । अपि हिमालतर्फ जानलाई पनि धनगढीदेखि दार्चुलासम्मको सडक यात्रापछि मकरीगाडबाट पदयात्रा गर्नुपर्छ । त्यहाँबाट करिब तीन दिनको पदयात्रापछि बेसक्याम्प पुगिन्छ । 

पर्यटकको संख्या बढ्दै गएकाले व्यवस्थित पदमार्ग, सूचना बोर्ड, विश्रामस्थल, उद्धार बिन्दु र पर्यटक सूचना केन्द्रजस्ता पूर्वाधार सबैतिर आवश्यक रहेको साइकल यात्रीसमेत रहेका पर्यटन अभियन्ता भरतविक्रम शाह बताउँछन् । 

कतिपय स्थानमा स्थानीय गाइडबिना पदयात्रा गर्न जोखिम हुने भएकाले तालिम प्राप्त गाइड, भरिया, विदेशी पर्यटकका लागि ट्रेकिङ नक्सा, डिजिटल मार्गदर्शन, मौसम सूचना र आपत्कालीन सम्पर्क प्रणालीसमेत विकास गर्नुपर्ने आवश्यकता यहाँ पुग्नेहरूले महसुस गरेको शाहले सुनाए । धनगढीकी ५५ वर्षीया सुष्मा भट्ट धेरै वर्षदेखि बडिमालिका जाने योजना बनाइरहेकी छन् । बाटो र बस्ने–खाने व्यवस्था राम्रो नभएको सुनेर उनले हिम्मत गर्न सकेकी छैनन् । 

धार्मिक आस्था, अनुपम प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको बडिमालिका सुदूरपश्चिमकै आकर्षक पर्यटकीय गन्तव्यमध्ये एक हो । तर त्यहाँ पुग्ने पदमार्ग, आवास, खानेपानी, शौचालय, सञ्चार र अन्य आधारभूत पूर्वाधारको अभावले पर्यटकले अझै पनि सास्ती खेप्नुपरेको छ । 

पछिल्ला वर्षमा बडिमालिकाको चर्चा भने उल्लेख्य बढेको छ । संघ सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा शुक्लाफाँटा–खप्तड–बडिमालिका पर्यटकीय करिडोर निर्माण तथा खप्तड–बडिमालिका– रामारोशन– बुढीनन्दा–रारा–स्वर्गद्वारी उच्च पहाडी पर्यापर्यटन पदमार्ग विकास गर्ने योजना समेटेको छ । प्रधानमन्त्री शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय कार्यसूचीमा पनि बडिमालिकाको ट्रेकिङ रुटको अध्ययन गरी कार्यान्वयनयोग्य योजना तयार गर्ने उल्लेख छ । तर ती योजनाको कार्यान्वयनबारे स्पष्ट प्रगति देखिएको छैन । 

सुदूरपश्चिम प्रदेश सरकारले पनि बडिमालिका क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि कार्यदल गठन गरेको थियो । दुई महिनाअघि तयार प्रतिवेदनले सहज पहुँच, सुरक्षित पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधार निर्माणका लागि करिब १ अर्ब ७९ करोड रुपैयाँ आवश्यक पर्ने निष्कर्ष निकालेको छ । तर प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा बडिमालिकाका लागि छुट्टै बजेट विनियोजन गरिएको छैन ।

हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका मन्दिरमा विशेष पूजा हुने परम्परा छ । दर्शन गरे मनोकामना पूरा हुने विश्वासका कारण भारतको उत्तराखण्ड, कुमाउ, गढवालबाट पनि तीर्थयात्री आउने गरेको पुजारी नेत्रराज पाध्यायले बताए । धार्मिक महत्त्वसँगै बडिमालिका प्राकृतिक सौन्दर्यका कारण पनि अनुपम गन्तव्य मानिन्छ । करिब १४ हजार फिट उचाइमा फैलिएका हरिया पाटन, रंगीचंगी फूल, दुर्लभ वनस्पति र वन्यजन्तुले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने पर्यटन प्रवर्द्धक भरतविक्रम शाहको भनाइ छ । 

त्रिवेणी क्षेत्रको ‘खेतीबेती’ स्थान आफैंमा अनौठो प्राकृतिक र सांस्कृतिक सम्पदा रहेको नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले जनाए । धार्मिक विश्वास, प्राकृतिक सौन्दर्य र हिमपातका कारण यहाँ हिउँचिप्लेटी (आइस स्केटिङ) को समेत सम्भावना रहेको उनको भनाइ छ । दुर्लभ वन्यजन्तु र बहुमूल्य जडीबुटी पाइने यस क्षेत्रमा पछिल्ला वर्षमा संरक्षण चुनौती थपिएको छ । 

छाडा चरिचरन, अवैध जडीबुटी संकलन र चोरी सिकारका कारण यहाँको जैविक विविधता जोखिममा पर्दै गएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत दानबहादुर थापाले बताए । ‘चैतदेखि भदौसम्म ठूलो संख्यामा पशुचौपाया चराउन ल्याइन्छ । जडीबुटी संकलन र चोरी सिकारी पनि बढ्दो छ,’ उनले भने, ‘समयमै संरक्षण गर्न नसके प्राकृतिक सम्पदामै असर पर्छ ।’

यति धेरै सम्भावना हुँदाहुँदै पनि बडिमालिकाको सबैभन्दा ठूलो समस्या भने आधारभूत पूर्वाधारको अभाव नै हो । पदमार्ग सुरक्षित छैन । यात्रुका लागि पर्याप्त आवासगृह, शौचालय, खानेपानी, होटल र विश्रामस्थल छैनन् । ‘पर्यटन विकासको कुरा गर्ने हो भने सबैभन्दा पहिले आधारभूत पूर्वाधार बनाउनुपर्छ,’ बडिमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतले भने । 

बुढीमाईको थान र बडिमालिका नजिक साना आवासगृह तथा केही स्थानमा रेलिङसहितको पदमार्ग निर्माण गरिएको प्रदेश पर्यटन इकाइ प्रमुख डबलबहादुर बोहराले बताए । 

प्राकृतिक सौन्दर्य, दुर्लभ जैविक विविधता र विशाल घाँसे मैदानका कारण पछिल्ला वर्षमा अछामको रामारोशनप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ । तर भरपर्दो सडक, सञ्चार, आवास र अन्य आधारभूत पूर्वाधारको अभावले वर्षाका महिनामा यहाँ पुग्नु चुनौतीपूर्ण बनेको छ । 

समुद्री सतहदेखि २ हजारदेखि झन्डै ४ हजार मिटर उचाइसम्म फैलिएको रामारोशन ‘१२ बन्ड, १८ खण्ड’ का नामले परिचित छ । यहाँ १२ ताल र १८ वटा विशाल मैदान छन् । ५२ बिघामा फैलिएको किनेमिने मैदान अछामकै सबैभन्दा ठूलो चउर मानिन्छ, जसको बीचबाट कैलाश खोला नागबेली परेर बग्छ । यहाँका तालहरूको आफ्नै विशेषता रहेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विक बताउँछन् । करिब तीन किलोमिटर लामो जिंगाले ताल अंग्रेजी अक्षर ‘सी’ आकारको छ भने लामादह तालको किनारमा उभिँदा पानी १० मिटरसम्म हलचल गरेको अनुभूति हुन्छ । ‘वसन्त ऋतुमा यहाँ १२ प्रजातिका लालीगुराँस फुल्छन् । डाँफेको आवाजले जंगल गुन्जिन्छ । मृग, कस्तूरी, झारल र घोरलको सुरक्षित बासस्थान पनि यही हो,’ उनले भने । 

गत निर्वाचनका बेला धनगढीमा रामारोशनलाई नेपालको अनुपम प्राकृतिक सम्पदाका रूपमा उल्लेख गरेपछि यसको चर्चा झन् चुलिएको प्रधानमन्त्री शाहले जनाए । त्यसयता काठमाडौं, पोखरा, बुटवल र धनगढीलगायत सहरबाट घुम्न आउनेको संख्या बढेको रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोपी खनालको भनाइ छ ।

सडककै कारण धेरै पर्यटकबीच बाटोबाट फर्किने गरेको स्थानीय व्यवसायी शमशेरबहादुर बोहराले जनाए । ‘वर्षातले खोलाछेउको बाटो बगाइदिन्छ । मुजाबगरभन्दा माथि जानै गाह्रो हुन्छ,’ उनले भने, ‘धेरै पर्यटक आउन थालेका छन् तर सबैको एउटै गुनासो हुन्छ– सडक किन यति खराब ?’

रामारोशनको विकासका लागि डेढ दशकदेखि बजेट छुट्याइए पनि त्यसको प्रभाव देखिने गरी काम हुन नसकेको स्थानीयको गुनासो छ । ‘पहिले आवश्यकता हेरेर होइन, व्यक्तिको इच्छाअनुसार बजेट आयो,’ विकले भने, ‘रामारोशनका नाममा बजेट आउने तर फिल्डमा काम नहुने प्रवृत्तिले लामो समयसम्म विकास रोकियो ।’ गत आर्थिक वर्षमा प्रदेश सरकारको ५० लाख रुपैयाँ बजेटबाट सानातिना निर्माणका काम गरिएको बोहराले बताए । 

अहिले रामारोशन पुग्ने सबैभन्दा ठूलो बाधा सडक बनेको छ । मुजाबगरदेखि रामारोशनसम्मको कच्ची र साँघुरो सडक वर्षायाममा अत्यन्त जोखिमपूर्ण हुन्छ । कतिपय ठाउँमा पहिरो र खोलाले बाटो बगाउँदा आवतजावत नै बन्द हुने अवस्था आउने गरेको छ । यसको असर पर्यटनमा मात्रै होइन, स्थानीय उत्पादनको बिक्रीमा पनि परेको छ । 

कोदो, फापर, सिस्नो, मह तथा जडीबुटीले सहज बजार पाउन सकेको छैन । सडकमार्ग व्यवस्थित भए धनगढी र सुर्खेतबाट आउने पर्यटकका लागि यो क्षेत्र एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्न सक्ने स्थानीयको दाबी छ । पूर्वाधार अभावकै कारण रामारोशन क्षेत्रमा हाल अस्थायी रूपमा मात्र होटल सञ्चालनमा छन् । 

स्थायी रूपमा होटल चलाउन कानुनी निश्चितता नभएका कारण पाहुना राख्न मिल्ने गरी संरचना बनाउन नसकिएको समितिले जनाएको छ । पूर्वाधार अभावसँगै प्राकृतिक ताल संरक्षण नहुनु, जडीबुटीको अवैध निकासी र वन्यजन्तुको चोरी सिकारी नरोकिनु यहाँको अर्को ठूलो चुनौती रहेको स्थानीयको बुझाइ छ ।

कान्तिपुरबाट