सुदूरका गन्तव्यमा पूर्वाधार नहुँदा रोकिन्छन् पर्यटक

सुदूरपश्चिम : असारको एक बिहान साइपाल गाउँपालिकाको जाडलेकसम्मको कच्ची सडकमा धूलो उडाउँदै एउटा जिप उकालो लागिरहेको थियो । जिपमा बझाङ, धनगढी र डडेलधुराबाट आएका आन्तरिक पर्यटक थिए । उनीहरूको गन्तव्य थियो– साइपाल हिमालको दक्षिणी बेसक्याम्प, औलागाड, पश्चिमी बेसक्याम्प राइढुगी हुँदै हिमालले घेरेको माजा उपत्यका । 

सामाजिक सञ्जालमा देखेको मनमोहक दृश्य आँखा अगाडि हेर्ने उत्साह उनीहरूमा थियो । धलौनबाट सुरु भएको पदयात्रा काकरकोट हुँदै दक्षिणी र पश्चिमी बेसक्याम्पसम्म सहजै पुग्यो । तर पश्चिमी बेसक्याम्पबाट करिब चार घण्टाको दूरीमा रहेको माजा उपत्यकातर्फ लागेपछि उनीहरूको यात्रा बाटोमै रोकियो । राइढुगीबाट गडुल हिमालतर्फ जाने साँघुरो डोरेटो केहीबेरसम्म पछ्याए पनि त्यसपछि बाटो नै हरायो । 

एउटा पाइला अड्याउन मिल्ने साँघुरो गोरेटो, दुवैतिर भीर र बीचमा झाडी । अन्ततः टोली जोखिम मोल्न नसकेर फर्कियो । ‘एउटा मात्रै पाइला अड्याउन मिल्ने बाटो थियो । झार समात्दै अघि बढ्यौं, त्यसपछि त पाइला टेक्ने ठाउँसमेत भेटिएन,’ टोलीका सदस्य वीरबहादुर धामीले भने, ‘तल हेर्दा भीर मात्रै थियो । केही साथीलाई रिंगटा लाग्यो । ज्यान जोखिममा पार्नुभन्दा फर्किनु नै ठीक लाग्यो ।’ 

यस्तो ठाउँमा सामान्य पदमार्गको संकेत मात्रै भए पनि बाटोकै अभावमा बीचैबाट फर्किनुपर्दा यात्रा अधुरो भएको धामीले सुनाए । यस्तो दृश्य अहिले माजामा मात्रै होइन, पश्चिममा थुप्रै गन्तव्यमा सामान्यजस्तै भएको छ । सुन्दर आकर्षक प्राकृतिक भूदृश्य सामाजिक सञ्जालमा देखेर यहाँ पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढिरहेको छ । तर पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा नयाँमा मात्रै होइन, चल्तीकै गन्तव्य साइपाल, अपि र खप्तड पुग्ने पर्यटकले पनि त्यहाँको सौन्दर्यसँगै केही न केही गुनासो बोकेर फर्किनुपर्ने बाध्यता छ । जसले गर्दा प्राकृतिक सम्पदाले विश्वस्तरको सम्भावना बोकेका यी गन्तव्यमा बढ्दो आकर्षणबीच कमजोर पूर्वाधारका कारण अपेक्षा गरेअनुसार पर्यटकीय चहलपहल बढ्न सकेको छैन । 

केही वर्षअघिसम्म सीमित पदयात्री र अनुसन्धानकर्ताको रोजाइमा पर्ने खप्तड, साइपाल र अपि अहिले युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकलगायत सामाजिक सञ्जालका कारण चर्चामा छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेसबुकमा अपि हिमालको बेसक्याम्पमा क्रिकेट खेल्दै गरेको छोटो भिडियो पोस्ट गरेपछि यहाँको चर्चा एकाएक चुलिएको थियो । सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा स्विट्जरल्यान्डको बाउ भन्दै बडिमालिकाबारे प्रधानमन्त्री वालेन्द्रले बोलेपछि बडिमालिका पनि सामाजिक सञ्जालमा एकाएक भाइरल भएको थियो । 

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकले पनि यी गन्तव्यमा पछिल्ला वर्षमा पर्यटकको संख्यामा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा २९ जना विदेशी पर्यटकसमेत अपि नाम्पा संरक्षण क्षेत्रमा पुगेको विभागको प्रतिवेदनमा उल्लेख छ । यद्यपि अपि हिमाल बेसक्याम्पसम्म मात्रै ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको दार्चुलाको अपि हिमाल गाउँपालिकाको तथ्यांक छ । 

‘निकुञ्ज विभागका कर्मचारीले सदरमुकाममा बसेर राखेको रेकर्ड यहाँ आउने पर्यटकको संख्या धेरै फरक छ,’ अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकेरे बोहराले भने, ‘तीन वर्षयता वर्षमा डेढ सय जना विदेशीसहित ५ हजारभन्दा बढी पर्यटक अपि पुगेको पालिकाको तथ्यांक छ ।’ 

सुदूरपश्चिमका हिमाली जिल्लाका अरू गन्तव्यभन्दा अपि बेसक्याम्प पदयात्रा मार्गमा व्यवस्थित पूर्वाधार भएको पर्यटकको अनुभव छ । अपि पदयात्रा मार्गमा बेसक्याम्पसम्म पुग्ने सुरक्षित पदमार्ग निर्माण गरिएको छ । बेसक्याम्पसहित पदयात्रा मार्गमा ४ गेस्ट हाउस र ४ चिया पसल सञ्चालनमा छन् भने यही रुटमा पर्ने ५ वटा गाउँमा होमस्टे सञ्चालनमा छन् । तथापि अहिले भएको पूर्वाधारले यहाँ पुग्ने पर्यटकको चाप धान्न नसकेर समस्या हुने गरेको अध्यक्ष बोहरा बताउँछन् । 

सुदूरपश्चिमको अर्को चर्चित गन्तव्य खप्तड पुग्नेको संख्या पनि प्रत्येक वर्ष बढिरहेको छ । निकुञ्ज विभागको प्रतिवेदनअनुसार २०६९/७० देखि २०७४/७५ सम्म वर्षमा १९ देखि ४६ जना पर्यटक पुग्ने खप्तड निकुञ्जमा २०७५ यता प्रत्येक वर्ष ३ हजार हाराहारी पर्यटक पुगेका छन् ।

यहाँ पुग्ने पर्यटकले पनि उपयुक्त आवासको सुविधा नहुँदा संख्या बढी भएका बेला चिसोमा रात बिताएको नमीठो अनुभव बोकेर फर्किनुपरेका थुप्रै उदाहरण छन् । बाटोमा पर्याप्त संकेत चिह्न नहुँदा कतिपय पर्यटक बाटो बिराएर हराएका घटना पनि छन् । 

अर्कोतिर राज्यको ठूलो लगानीमा यहाँ निर्मित संरचना प्रयोगै नभएर जीर्ण हुने गरेका छन् । यसको पछिल्लो उदाहरण खप्तडमा पर्यटकको आवास सुविधाका लागि बनेको सुविधा सम्पन्न भनिएको भवन बनेको छ । निकुञ्जको मुख्य ब्यारेक नजिक ८० बेड र डोटीको बाटो भएर आउजाउ गर्ने पर्यटकका लागि बिचपानीमा निर्माण गरिएको २० बेड क्षमताका आठ वटा भवन सात वर्षदेखि अलपत्र छन् । 

१ सय ५० जना पर्यटकलाई सुविधायुक्त तरिकाले बास बस्न मिल्ने भवन निर्माणको ठेक्का प्रक्रिया २०७६ सालमै सुरु भएको थियो । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा भवन निर्माणका लागि विनियोजन गरेको ५ करोड रकमबाट खप्तड राष्ट्रिय निकुञ्जले ठेक्का खोलेर प्रिफ्याब प्रविधिमा आधारित भवन बनाएको थियो । चिसो वातावरणमा पनि कोठाभित्र न्यानो बनाउन सक्ने प्रविधि भएका यी भवन निर्माण भएको पनि तीन वर्ष पूरा हुन लाग्यो । तर यहाँ पुग्ने पर्यटकले रातभर चिसोमा सुत्ने र बिहान यी भवन अगाडि फोटो खिच्नुपर्ने बाध्यता छ । 

‘यी भवन छिटो प्रयोगमा ल्याइदिनुपर्‍यो भनेर हामीले निकुञ्जका प्रमुख संरक्षण अधिकृतदेखि विभागसम्म अनुरोध गरेको गर्‍यै छौं,’ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेम जोशी भन्छन्, ‘कार्यविधि बन्दै छ भनेर टार्ने काम गरिरहेका छन् । सञ्चालनमा नआउँदै भवन चुहिन थालिसके ।’ 

सुदूरपश्चिम प्रदेशको अर्को प्रमुख गन्तव्य साइपाल पुग्नेको संख्या पनि सालिन्दा बढ्दो छ । कोरोना महामारीअघिसम्म वार्षिक एक/डेढ सय पर्यटक पुग्ने साइपाल क्षेत्रमा अहिले महिनामै तीन/चार सयसम्म पुग्ने गरेको साइपाल गाउँपालिकाको तथ्यांक छ । यहाँ पुग्नेहरूले पनि पूर्वाधार अभावकै समस्या झेल्नुपरेको छ । 

बाढी र पहिरोले भत्काएका पदमार्गको समयमै मर्मत नगर्दा केही ठाउँमा जोखिम छ । कतिपय ठाउँमा सुरक्षित पुलको अभावमा साँघुको सहारामा जोखिमपूर्ण तरिकाले खोला तर्नुपर्ने अवस्था छ । साइपाल बेस क्याम्पभन्दा झन्डै आधा दिन तल पर्ने दोतलेसम्म बास बस्ने व्यवस्था भए पनि बेसक्याम्प क्षेत्रमा बस्न चाहनेले टेन्ट बोकेर जानुपर्छ à¥