सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित, पाँचौँ मुख्यमन्त्री खगराज भट्ट बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेशमा सत्ता परिवर्तन हुने निश्चित भएको छ। केन्द्रमा नेकपा र नेकपा (एमाले) बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा पाँचौँ मुख्यमन्त्री नेकपा संसदीय दलका नेता खगराज भट्ट बन्ने भएका हुन् ।
दुवै दलबिच सत्ता साझेदारी, मन्त्रालयको भागबन्डा र साझा कार्यक्रमका विषयमा सहमति जुटे सँगै अब सुदूरपश्चिम प्रदेशको सरकार पनि नयाँ बन्ने भएको हो।
डडेल्धुरा प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट निर्वाचित भट्ट २०७९ सालको निर्वाचनमा १२ हजार ११२ मत प्राप्त गर्दै विजयी भएका थिए । हाल सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले गरिरहेका छन्।
नेकपा एमालेले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसयता नयाँ सरकार गठनका लागि राजनीतिक छलफल तीव्र बनेको थियो। अन्ततः नेकपा र एमालेबिच सहमति जुटेसँगै शाहको बहिर्गमन निश्चित भएको छ।
शाह एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर विवाद चुलिएपछि एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो।
संविधानअनुसार अल्पमतमा परेका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। यही विषयमा दलका नेताहरूसँग छलफल गर्न मुख्यमन्त्री शाह हाल काठमाडौँमा छन्। उनले राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेका छैनन् ।
विपक्षी दलहरूले मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् भने मुख्यमन्त्री शाहले संविधानअनुसार विश्वासको मत लिएर मात्र अगाडि बढ्ने अडान राखेका छन्।
संविधानको व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ। खगराज भट्टले प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा शपथ लिने छन्।
यससँगै दोस्रो प्रदेश सभामा पाँचौँ पटक सरकार परिवर्तन हुने भएको छ। २०७९ पुस २७ गते एमालेका राजेन्द्रसिंह रावल पहिलो मुख्यमन्त्री बनेका थिए। त्यसपछि कमल बहादुर शाह पहिलो पटक मुख्यमन्त्री बने। २०८१ वैशाखमा दीर्घबहादुर सोडारीले सरकारको नेतृत्व गरे भने त्यसपछि शाह दोस्रो पटक मुख्यमन्त्री बने। अब शाहको दोस्रो कार्यकाल समाप्त हुँदै खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
सुदूरपश्चिम प्रदेशको पहिलो कार्यकाल भने स्थिर रहेको थियो। तत्कालीन नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले पाँच वर्ष पूरा कार्यकाल सरकारको नेतृत्व गरेका थिए। तर दोस्रो कार्यकालमा भने सरकार लगातार परिवर्तन हुँदा राजनीतिक अस्थिरता बढ्दै गएको छ।
बारम्बारको सत्ता परिवर्तनले बजेट कार्यान्वयन, विकास आयोजना र प्रशासनिक कामकारबाहीमा समेत असर परेको छ। अब खगराज भट्ट नेतृत्वको नयाँ सरकारले प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्दै विकासका कामलाई गति दिन सक्ने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस्