July 25, 2026, Saturday
२०८३ श्रावण ९

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेका नेता समेत रहेका कँडेलले झन्डै साढे ३ वर्षपछि शनिबार दिउँसो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका हुन्।

सुरूमा तत्कालीन एकीकृत नेकपा माओवादी सँगको गठबन्धन हुँदा मुख्यमन्त्री बनेका उनी तीन महिना नपुग्दै त्यो गठबन्धन भत्किएर नेपाली काँग्रेससँग गठबन्धन बनेपछि फेरि कांग्रेसको साथ समर्थनमा निरन्तर मुख्यमन्त्री बनेका थिए। 

अघिल्लो महिना मात्रै सत्ता प्रमुख साझेदार दल नेपाली कांग्रेसले यो प्रदेशमा एमालेसँगको सम्बन्ध तोडेको थियो। असार ३१ गते कांग्रेसका चार मन्त्रीले एकैसाथ राजीनामा दिएका थिए। 

भोलिपल्ट असार ३२ गते कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १६ जना सांसदले मुख्यमन्त्री कँडेलका विरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। जसले गर्दा कँडेल अप्ठ्यारोमा परेका थिए। 

कँडेल स्पष्ट अल्पमतमा परेपछि शनिबार दिउँसो ३ बजे मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश सभाको बैठक बसेको थियो। सोही प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

उनी २०८० चैत २७ गते तत्कालीन समय एकीकृत नेकपा माओवादीको समर्थनमा तत्कालीन समय मुख्यमन्त्री नियुक्त भएका थिए।