कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव

काठमाडौँ : नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पाँच बुँदे ठोस प्रस्ताव अगाडि सारेको छ । समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे प्रस्ताव अघि सारेको हो ।
पत्रकार सम्मेलनमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत शीर्ष नेताहरू सहभागी थिए।
एकता जोगाउनको लागि भएको पटक पटकको वार्ता नेतृत्वबाट आवश्यक लचकता नहुँदा सहमति जुट्न नसकेको नेता मीनबहादुर विश्वकर्माले बताए। नयाँ पार्टीको तयारी अघि बढाएको इतर समूहले संस्थापन पक्षसँग ५ बुँदे प्रस्ताव पनि अघि सारेको छ।
१४ औँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने प्रस्ताव राखेको उनले बताए।
पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउने प्रस्ताव राखेको छ।
यस्तै, तत्कालीन महामन्त्री थापा संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई १५ औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग जोड्न नमिल्ने प्रस्ताव छ।
यस्ता छन् पाँच बुँदे प्रस्ताव–
(क) चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
(ख) सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने ।
(ग) पूनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
(घ) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरू बनाउने ।
(ङ) महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने ।





प्रतिकृया दिनुहोस्