July 25, 2026, Saturday
२०८३ श्रावण ९

अनशनरत डा. केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो, आईसीयूमा राखेर उपचार सुरु

धनगढी : तीन दिनदेखि २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धनगढी स्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो ।

धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए । उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् ।

चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।

डा. केसी बिहीबारदेखि विभिन्न पाँच बुँदे माग राख्दै धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा २४औं सत्याग्रहमा बसेका हुन् । डाक्टर केसीका सहयोगी अमृत जैशीकाअनुसार स्वास्थ्य अवस्था बिग्रिदै गएपछि मांसपेशी बाउडिने, बोल्न पनि असहज हुने, खुट्टाको अप्रेसन गरेका कारण हिँडडुल गर्न पनि कठिन भएपछि बाथरुम जान पनि समस्या भइरहेको थियो ।

केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार रहेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताइसकेका छन् । शुक्रबार साँझ डा. केसीका सहयोगी जैशीसँग कुरा गरेका मन्त्री पोखरेलले राति ११ बजेतिर स्वयंम केसीसँगै फोन संवाद गरेका थिए ।

संवादका क्रममा पोखरेलले सरकार माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका थिए । केसीले पाँच मागका अतिरिक्त सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने, चिकित्सा शिक्षाको अध्ययन थाल्नुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने बटमलाइन भएको बताएका थिए ।

जवाफमा मन्त्री पोखरेलले ती माग सम्बोधन गर्नेगरि वार्ता टोली गठन गर्ने र सम्भव भएमा आफैँ धनगढी आउने बताएको केसीका सहयोगी डा. जैशीले बताए ।

अनशन स्थलमा स्थानीयको प्रदर्शन

यसैबिच, डा. केसीको अनशनविरुद्ध स्थानीयवासीले कृष्ण मन्दिर परिसरमा प्रदर्शन गरेका छन्। अनशन स्थलमै पुगेका उनीहरूले तत्काल अनशन तोड्न माग गर्दै नाराबाजी गरेका थिए।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका बेला डा. केसीको अनशनलाई लिएर स्थानीयमा असन्तुष्टि देखिएको हो। प्रदर्शनकारीहरूले विश्वविद्यालय सञ्चालनको प्रक्रियामा अवरोध सिर्जना गर्न स्वार्थ समूहले डा. केसीलाई प्रयोग गरेको आरोप लगाएका छन्।

प्रदर्शनका क्रममा भिड नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलगायत विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४औँ अनशन सुरु गरेका थिए।