July 19, 2026, Sunday
२०८३ श्रावण ४

बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो- ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार हत्याहिंसा, तोडफोड, आगजनीबाट बनेको आरोप लगाएका छन् । 

पार्टी संसदीय मामिला विभागको आयोजनामा पार्टी कार्यालयमा आइतबार सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

‘अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, थितिविहीन तरिकाले चलिरहेको छ’, अध्यक्ष ओलीले भने, ‘लोकतन्त्रमा सरकार परिवर्तन गर्ने कानुनी र संवैधानिक बाटा हुन्छन्,तर अहिलेको सरकार हत्याहिंसा, तोडफोड, कब्जा, आगजनीकाे आधारबाट बनेकाे हो।’

ओलीले नेपालको राजनीति दिशाहीन, विधिहीन र थितिविहीन ढङ्गले सञ्चालन भइरहेको समेत बताए । गत भदौ २३ र २४ पछि मुलुकको राजनीति दिशाहीन भएको उनकाे भनाइ छ।

सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले मिटर ब्याज पीडितलाई फेरि सरकारले धोका दिएको बताए।

‘मिटरब्याज पीडितलाई सरकारले धोका दिएको छ । अर्थतन्त्र उकास्ने काम भएको छैन’, ओलीले भने, ‘गरिबी निवारण गरेर जानुपर्ने ठाउँमा गरिबलाई डुबाउने काम भएको छ ।’

उनले आइटीवारमा एमाले पछि परेको भन्दै प्रविधिको प्रयोग गरेर अघि बढ्न सकेमात्र सफलतामा पुगिने बताए । ‘हामी आइटी क्षेत्रमा पछि परेका छौँ । ज्ञान दुई ढङ्गले प्राप्त गर्न सकिन्छ । एउटा गुरुको माध्यमबाट र अर्को आफ्नो मेहनत’, ओलीले भने,‘विना अभ्यास कुनै चिज पनि प्राप्त गर्न सकिँदैन।’