सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह अल्पमतमा : भन्छन्- संवाद अझै जारी छ, मैले सबैको विश्वास पाउने छु

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता गठबन्धनका विषयमा विभिन्न चरणमा संवाद, छलफल भइरहेको बताएका छन्। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले उक्त जानकारी दिएका हुन ।
एमालेका चार मन्त्रीलाई हटाएपछि एमालेले समर्थन फिर्ता लिदाँ मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। एकातर्फ अल्पमतको सरकार, अर्कोतर्फ बजेट असफल भएपछि मुख्यमन्त्री शाह अहिले नैतिक संकटमा समेत परेका छन्।
बिहीबार बसेको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उनलाई राजीनामा दिन सुझाव दिइसकेको छ। अब मुख्यमन्त्री शाहले के गर्छन् त ? आफूले संवैधानिक रूपमा पाएको अवधिभित्रै विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतहरू बताउँछन्।
एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेको र नेकपाले समेत मार्गप्रशस्त गर्न सुझाव दिएका बेला मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका छन् ।
‘एमालेले समर्थन फिर्ता लिएपछि पनि मलाई एक महिनाको अवधि संविधानले दिएको छ। म त्योअनुसार संवाद र छलफलमा छु, ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्रमा पनि विभिन्न विषयमा छलफल भइरहेको छ। ती सबै कुराको टुंगो चाँडै लाग्नेछ। मलाई विश्वास छ, मैले सबैको विश्वास पाउने छु। ’
संविधानअनुसार कुनै दलले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण मुख्यमन्त्री शाह अल्पमतमा परेपनि सरकारको नेतृत्वमै छन् ।
प्रदेश सभामा रहेको ठूलो दल नेकपाले मुख्यमन्त्री शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय नै गरिसकेको छ । कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ ।
यस्तो अवस्थामा शाहले निकास दिनुपर्ने आवाज उठ्न थालेको छ । तर उनी भने अहिले राजनीतिक परस्थिति विकसित नभइसकेका कारण तत्काल पदबाट राजीनामा नदिने बताउँछन् ।
‘राजनीतिक रुपमा सत्ता सहकार्यका लागि अहिले नै कुनै परस्थिति बनिसकेको अवस्था छैन । पार्टी नेतृत्वले ठोस निर्णय दिनुपर्छ,’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्रमा नेकपासँग कुराकानी भइरहेको कुरा सुनेको छु । त्यसैले अर्को टुंगो नलाग्दा सम्म पर्खिन्छु ।’
एमालेले आफू नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले नै दोस्रो समीकरण नबेको कारण पनि तत्काल पदबाट छाड्नुपर्ने स्थिती नभएको बताउँछन् ।
प्रमुख प्रतिपक्षी दल नेकपाले मार्गप्रशस्त गर्न गरेको अनुरोधलाई भने स्वाभाविक रुपमा लिएको मुख्यमन्त्रीको भनाइ छ । शाहले केन्द्रीय तहमा हुने छलफल र निर्णयअनुसार आफूले पनि राजनीतिक निर्णय लिने उल्लेख गरे । प्रदेश सरकारले ल्याएको बजेट सभाबाट पारित हुन नसकेपनि प्रदेशमा बजेट शून्यताको अवस्था नभएको उनी बताउँछन् ।
खासगरी राजस्व संकलन सम्बन्धीका काम नरोकिने गरी यसअघि नै कानुनी व्यवस्था गरेकाले बजेट शून्यता नहुने मुख्यमन्त्री शाह बताउँछन् । असार १ गते सरकारले ल्याएको बजेट हिजोसम्म पारित हुन नसकेपछि प्रदेशमा अहिले बजेट शून्यता सुरु भएको छ। कर उठाउन समस्या नभए पनि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको हो।
सुदूरपश्चिम प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल हो। १८ जना सांसद रहेको कांग्रेसले ११ जना सांसद रहेको एमालेसँग सहकार्य गरेर सरकार चलाइरहेको थियो। अहिले सुदूरपश्चिम प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सबैभन्दा ठूलो दल नेकपा हो । यस पार्टिका २२ सांसद रहेका छन।
अब सुदूरपश्चिममा कांग्रेस–नेकपा वा एमाले–नेकपाको गठबन्धन हुने सम्भावना अधिक छ। तर, सत्ता गठबन्धन पूर्ण रूपमा नटुटेको अवस्थामा यही गठबन्धनलाई निरन्तरता दिन पनि दुवै दलका केही नेताहरू लागिरहेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएपछि यस विषयमा टुंगो लाग्ने बताइएको छ।





प्रतिकृया दिनुहोस्