सुदूरपश्चिममा भूकम्पको झड्का, ग्रामीण क्षेत्रमा घरहरु चर्किए
डोटी मंसिर ३(ई-रैवार)
मंगलबार साँझ सुदूरपश्चिममा भूकम्पको ठुलो झड्का महशुस भएको छ । साँझ ७ः१५ बजे बझाङको पौवागढी आसपास रहेर पाँच दशमलव सात रेक्टर स्केलको भूकम्प गएको क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको झड्का सुदूरपश्चिमका सबै जिल्ला सहित कर्णाली प्रदेशका जिल्लाहरुमा समेत महशुस गरिएको छ ।
भूकम्पले डोटीका ग्रामीण क्षेत्रका घरहरुमा क्षती पुगेको स्थानीयले जनाएका छन् । ‘धेरै ठुलो क्षतीको खबर त छैन्,’ डोटीको पूर्विचौकी गाउँपालिका–३ का रामप्रसाद उपाध्यायले भने,‘तर,यहाँका सबैजसो घरहरु भने चर्किएका छन् । यसले डर सिर्जना गरेको छ ।’ उनका अनुसार ग्रामीण क्षेत्रमा माटोको गाह्रोले बनेका घरहरुमा चर्कने समस्या ब्यापक रहेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लाका पूर्विचौकी र सायल गाउँपालिकाबाट घर चर्केको भन्ने खबर आएको जनाएको छ । यद्यपी पूर्ण विवरण नआएको प्रहरी उपरीक्षक दिलिपसिँह देउवाले बताए । उनले भने,‘प्रहरी संयन्त्रलाई बुझ्न पठाएको छौ । सूचनाका आधारमा काम गरिरहेका छौ ।’
उता केन्द्रबिन्दु रहेको बझाङमा ठुलो क्षतीको विवरण नआएको नायब प्रहरी उपरीक्षक गणेश बम बताए । उनका अनुसार पौवागढी प्रहरी चौकी रहेको क्षेत्रभन्दा टाढा र पर्याप्त सञ्चार नभएको क्षेत्र रहेकाले विवरण आईसकेको छैन् । ‘त्यो खप्तडको मध्यवर्ती क्षेत्र हो । फोन पनि राम्रोसंग लाग्दैन्,’ उनले भने,‘हामीले नजिकको क्षेत्रबाट त्यहाँ प्रहरी परिचालन गरिसकेको छौ ।’ रातीको समय भएकाले घरहरुमा भएको सामान्य क्षतीको विवरण भने संकलन नभएको उनले जनाए ।
यता भूकम्पले ठुलो झड्का दिएपछि स्थानीयबासिन्दामा त्रासको वाताबरण छ । ‘२०७२ को भूकम्प जाँदा लगातार गईरहन्थ्यो,’ दिपायलका व्यवसायी गणेश साउँदले भने,‘यसको झड्का पनि कम थिएन् । खै अझै गईरहने हो की ?’
प्रतिकृया दिनुहोस्