February 26, 2026, Thursday
२०८२ फाल्गुन १४

बैतडीमा‌ एमाले र रास्वपा कार्यकर्ताबीच झडप, दुईजना घाइते

बैतडी : बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किएपछि झडप भएको हो ।

प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी छन् । दुवै एमालेनिकट युवा संघसँग आबद्ध रहेको बताइएको छ ।

झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ । माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ । अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।