कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक सुरु, एक-दुई दिन भित्रमा सबै एकैठाउँमा हुन्छौँ : गगन थापा

काठमाडौँ : गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा शनिबार मध्याह्न सवा १२ बजे बैठक सुरु भएको हो ।
विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले शुक्रबार आधिकारिकता दिएको थियो । आजको बैठकले पार्टीको अबको रणनीतिबारे छलफल गरी आवश्यक निर्णय गर्ने बताइएको छ ।
केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति गगन थापाले पार्टीका सबै नेताहरूलाई एकैठाउँमा आउन आह्वान गरेका छन्।
साथै उनले अब निवर्तमान सभापति शेरबहादुर देउवाबाट संरक्षकको भूमिकाको अपेक्षा गरेको बताए। उनले भने, ‘उहाँहरूबाट अभिभावकको भूमिकाको अपेक्षा गरेको छु, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु। उहाँले पनि आह्वान गर्दिनुपर्छ। उहाँले देशभरिका साथीहरूलाई भन्दिनुपर्छ अब यो रोक, सकियो।’ एउटा चरणसम्म विमतिहरू रहे पनि सबै एकजुट हुनुपर्ने बताए।
उनले भने, ‘म पार्टीको वरिष्ठ नेता डा. शेखर कोइरालाबाट पनि त्यही कुराको अपेक्षा गर्छु। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यही अपेक्षा गर्छु। र मलाई के विश्वास छ भने हामी एक-दुई दिन भित्रमा तपाईँहरूले हामी सबै नेपाली कांग्रेस पार्टीका साथीहरूलाई एक ठाउँमा बसेर एक ढिक्का भएर छलफल गरिरहेको संवाद गरिरहेको र निर्णय गरिरहेको देख्न पाउनुहुन्छ।’





प्रतिकृया दिनुहोस्