रवि-बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) बिच आइतबार बिहान ७ बुँदे सहमति भयो।
सहमतिपछि रास्वपा सभापति लामिछानेले ‘सहमति भनेको नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने’ भन्दै प्रतिक्रिया दिएका छन्। उनको भनाई र त्यो सहमतिबारे अहिले राजनीतिक बजारमा व्यापक चर्चा–परिचर्चा भइरहेका छन्।
यस्तोमा राजनीतिक विश्लेषक र केही जेन–जी अभियन्ता भने यसलाई उक्त सहमतिलाई ‘देशलाई चाहिएको जस्तो’ नभई पुरानै शक्तिले गरेजस्तो सत्ता स्वार्थको सौदाबाजी मात्रै भएको टिप्पणी गरिरहेका छन्।
सहमतिले वैकल्पिक भनिएका शक्तिहरू एक ठाउँमा आउनु सकारात्मक नै भए पनि सहमतिको एजेन्डा अस्पष्ट हुनु र भविष्यका लागि पदको बाँडफाँट मात्रै देखिनुले निराशा पैदा गरेको टिप्पणी भइरहेको छ।
जेन–जी अभियन्ता माजिद अन्सारी उक्त सहमतिमा देशलाई निकास दिने कुनै एजेन्डा बोक्न नसकेको बताउँछन्। ‘चुनाव हुनै बाँकी छ, चुनावबाट जित्ने–नजित्ने अर्को विषय छ,’ उनी भन्छन्, ‘तर अहिले नै पद बाँडफाँटमा नयाँ भनिएकाहरू नै सीमित देखिए। सहमति पत्रका देशले आस गर्न सक्ने कुनै एजेन्डा नै देखिएन।’ रवि–बालेनको सहमति विगतमा प्रचण्ड–ओली, प्रचण्ड–बाबुराम, देउवा–कोइराला कै निरन्तरताजस्तो देखिएको उनले टिप्पणी गरे।
सहमतिले देशका मूल मुद्दा संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र र भ्रष्टाचारमुक्त समाज, जेन–जीका मूल मुद्दा कुनै पनि विषयलाई गम्भीर रूपमा नछोएको पनि उनले बताए। ‘यहाँ दुई भाइरल व्यक्तिहरूले पदको बाँडफाँट गरेर मिलन मात्रै देखाए। देशको मूल मुद्दा देखाएनन्,’अन्सारीले भने।
केही जेन–जीले भने यसलाई आलोचनात्मक समर्थन पनि गरिरहेका छन्। जस्तो अभियन्ता रक्षा बम निर्वाचनका ६७ दिन मात्रै बाँकी रहँदा संविधान स्विकारेर नयाँ शक्तिबिच सम्झौता हुनुलाई सकारात्मक लिनुपर्ने उनको तर्क छ।
अभियन्ता भावना राउत पनि वैकल्पिक शक्तिहरू एक हुनु समयको माग भएको बताउँदै पुराना दललाई विस्थापित गर्नुपर्ने बताइन्। यद्यपि नयाँ भनिनेहरूलाई आफूले अन्ध समर्थन भने नगर्ने दाबी गरिन्। जेन–जी आन्दोलनको म्यान्डेट सहमति पत्रमा नसमेटिएको विषयमा भने जेन–जीहरू असन्तुष्ट छन्।
अर्का अभियन्ता आदित्य कर्णले नयाँ दल वा व्यक्तिहरू आफ्नो स्वार्थका लागि मात्र नभई देश र आन्दोलनका माग–मुद्दासँग सचेत हुनुपर्ने बताए।
उता राजनीतिक विश्लेषक नवीन तिवारी भने रवि र बालेनको यो सहमति पुरानै दल र नेताबिच हुने सहमति शैलीको फोटोकपी मात्रै भएको बताउँछन्। सँगै सहमतिमा जोडिएका व्यक्तिको पात्र चरित्र हेर्दा पनि धेरै आशा गर्न नसकिने उनको टिप्पणी छ।
‘काठमाडौंका मेयर बालेन जनप्रतिनिधि भए पनि जनतासँग प्रत्यक्ष संवाद कम रुचाउने व्यक्ति हुन्। उनको राज्य संस्थासँग पटक पटक टकराब भइरह्यो,’ तिवारीले भने, ‘अर्कातिर रवि लामिछाने स्वयं पनि विभिन्न विवादमा तानिएका छन्। दुवै नेताको यो सहमतिले रातारात रूपान्तरण सम्भव छैन। आशा गर्नु नि हुँदैन।’ रवि र बालेन दुवैमा एजेन्डा, विचार र दीर्घकालीन लक्ष्य स्पष्ट नभएकाले उनीहरूले मुलुकलाई विकल्प दिने आधार नै नभएको उनको तर्क छ।
अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल बालेन–रवि सहमतिमा पदको बाँडफाँट मात्रै देखिएको बताउँछन्। ‘उनीहरूको सहमतिमा सुरुमा प्रधानमन्त्री को बन्ने? पार्टी सभापति को हुने? भन्ने मात्रै छ,’ खनाल भन्छन्, ‘त्यहाँ देशका मूल एजेन्डा आएकै छैनन्। त्यसैले पद बाँडफाँटले मात्रै मुलुकलाई नयाँ उत्साह दिन सक्दैन।’ कुनै दिन यही कुरा पहिले जस्तै घोर निराशाको कारक बन्ने उनले दाबी गरे। नागरिकबाट





प्रतिकृया दिनुहोस्