September 19, 2025, Friday
२०८२ आश्विन ३

गेटामा सत्याग्रह बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै, सुगरको मात्रा कम

धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ। कैलालीको गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको उनका सहयोगी डा. अमृत जैशीले बताएका हुन।

गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले डा. अमृत जैशीले बताएका हुन् । डा. जैसीले भने, ‘मंगलबार बिहान गरिएको परीक्षणमा डा. केसीको मुटुको चालमा गडबडी देखिएको छ । ३७ एमजी हुनु भनेको अत्यन्तै न्यून हुनु हो । अनि सुगरको मात्रा पनि कम देखिएको छ ।’

‘उहाँको स्वास्थ्य अवस्था क्रमश बिग्रदै गएको छ । मासपेशी दुख्ने, बाउडिने लगायतका समस्या देखिएको छ,’ डा. जैसीले भने, ‘चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न मान्नुभएको छैन र अनसनलाई निरन्तरता दिने बताउनुभएको छ ।’

डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायत निर्णयको विरोध गर्दै गत आइतबार अपराह्नबाट सत्याग्रह सुरु गरेका हुन् । तीन दिने सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार तेस्रो दिन हो। मंगलबार अपराह्नतिर सत्याग्रह अन्त्य गर्ने तयारी रहेको छ।

तेइसौँ सत्याग्रह थालेका डा. केसीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, शुल्क वृद्धि नगर्नुपर्ने, सम्झौता अनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन्।

चिकित्सा शिक्षा आयोगको साउन ३० बसेको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म दिने निर्णय गरेको थियो । आवश्यक मापदण्ड नै पुरा नगरेका निजी मेडिकललाई जथाभावी सिट तोक्दा गुणस्तर खस्कनुका साथै स्वास्थ्य सेवामा ह्रास आउने उनको तर्क छ ।

डा. केसी भन्छन्, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’

चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको डा. केसी बताउँछन् ।

डा. केसीले अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि माग राखेका छन् ।