सुदूरपश्चिमसहित तिन प्रदेशमा भारी वर्षाको सम्भावना, यी नदीमा बाढीको जोखिम

धनगढी : सुदूरपश्चिमसहित तिन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर साधारणतया बदली रहने बताएको छ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहने महाशाखाले बताएको छ। सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ।
पछिल्लो २४ घन्टामा देशभर मध्यम वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोकको मानेखर्कमा ८८.८, लमजुङको फलेनीमा ६१.६, डडेलधुरामा ७४.६, साहूखर्कमा ७८.२, डोटीको गैह्रामा ६०.८ मिलिमिटर वर्षा भएको छ।
मंगलबार बिहानको मापन अनुसार नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र कोशी, महाकाली र यिनका सहायक नदीहरू बहाव सतर्कता आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहने पूर्वानुमान छ।
साथै दोलखा, सिन्धुपाल्चोक, रामेछाप, हुम्ला, बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।
त्यसैगरी इलाम, झापा, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर ,गोरखा, लमजुङ, तनहुँ, डोल्पा, मुगु, बर्दिया र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।







प्रतिकृया दिनुहोस्