April 18, 2026, Saturday
२०८३ बैशाख ५

कुपोषित बालबालिकाको जीवनरक्षा गर्ने औषधिको ६ महिनादेखि अभाव

धनगढी । कडा कुपोषणले ग्रसित १२ महिनाकी प्राप्ति केसी बुटवलस्थित पोषण पुनःस्थापना केन्द्रमा उपचाररत छिन् । केन्द्रमा भर्ना भएको ७ दिन हुँदा पनि उनमा सुधारको संकेत देखिएको छैन । कारण हो, कुपोषितले खाने पोषणयुक्त खानाको अभाव ।

केन्द्रमै उपचाररत ११ महिनाकी सिमरन पाइजाको पनि कडा कुपोषणको समस्या पोषणयुक्त खानाको अभावकै कारण सुधार हुन सकेको छैन ।

कडा खालको कुपोषणको समस्या भएका बालबालिकाले खाने ‘एफ ७५’ र ‘एफ १००’ नामका धूलो पाउडर दूध लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलमा रहेको पोषण पुनःस्थापना केन्द्रमा गत फागुनदेखि नै अभाव छ । ‘औषधि अभाव हुँदा पनि दुःख बिमार परेर आएकालाई हेरचाह गर्दै आएका छौं । आफैं बनाएका घरेलु पोषक कुरा खुवाएर उपचारलाई निरन्तरता दिएका छौं, फर्काउन मिलेन,’ पोषण पुनःस्थापना केन्द्र प्रमुख प्रतीक्षा थापाले भनिन् । उनका अनुसार प्रभावकारी मानिएको औषधि अभाव हुँदा दूध, जाउलो, लिटो, दालभातलगायत पोषणयुक्त खाना खुवाएर केन्द्रमा उपचार गरिएको छ । यो औषधिजस्तो प्रभावकारी भने हुँदैन । ‘थोरै र बिस्तारै भए पनि काम गरोस् भनेर केन्द्रमा राखेर खुवाइएको हो,’ उनले भनिन् ।

‘एफ ७५’ र ‘एफ १००’ नामका पोषक तत्त्वमा भिटामिन, जिंक, अन्य खनिजलगायतका उच्च पोषक तत्त्व हुन्छन् । यो कडाखाले कुपोषण भएकाले खाने प्रभावकारी वैकल्पिक खाद्य पदार्थ हो । गत फागुनयता यसको अभाव हुँदा घरेलु पोषक तत्त्व खुवाएर ७५ जनालाई उपचार गरी पठाइएको पोषण अधिकृत थापाले जानकारी दिइन् । १० शय्या रहेको पोषण पुनःस्थापना केन्द्रमा अहिले ६ जना उपचाररत छन् । कडा खालका कुपोषित बालबालिकालाई १० देखि १८ दिनसम्म आवासीय रूपमा केन्द्रमा राखेर उपचार गरिन्छ । त्यसपछि जिल्लास्थित स्वास्थ्यचौकीमा रहेको ‘ओटीसी सेन्टर’ मा नियमित औषधि र जाँचका लागि रेफर गरिन्छ ।

पोषण पुनःस्थापना केन्द्रमा आइपुगेका बालबालिकालाई चिकित्सकले जाँच गर्दा अन्य रोग पहिचान नभएपछि मात्र कडा खालको कुपोषणको उपचार सुरु गरिन्छ । ६ महिनादेखि ५९ महिनासम्मका कुपोषित बालबालिकाको उपचार केन्द्रमा गरिन्छ । बुटवलस्थित पुनःस्थापना केन्द्रमा पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, रूपन्देही, अर्घाखाँची र कपिलवस्तुसम्मका बालबालिका उपचारका लागि जाने गर्छन् । बुटवलमा ०७१ देखि पोषण पुनःस्थापना केन्द्र सञ्चालनमा छ । लुम्बिनी प्रदेशमा दाङ र नेपालगन्जमा पोषण पुनःस्थापना केन्द्र सञ्चालित छन् ।

यस्तै, सप्तरीमा कडा खालको कुपोषण देखिएका १० बालबालिका उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज मातहतमा रहेको पोषण पुनःस्थापना केन्द्रमा भर्ना छन् । तर, त्यहाँ पनि सात महिनादेखि पोषण पुनःस्थापना गृहले उपचारात्मक दूध (एफ–७५ र एफ–१००) पाएको छैन । उपचारात्मक पोषक तत्त्वको अभाव हुँदा कडा खालको कुपोषित बालबालिकाको उपचारमा समस्या भइरहेको छ ।

सात महिनादेखि बालबालिकालाई डेरीको दूध खुवाएर उपचार गरिँदा सोचेअनुसारको परिणाम पाउन नसकेको पोषण पुनःस्थापना केन्द्रकी प्रबन्धक रश्मि झाले बताइन् । ‘जनवरीदेखि नै उपचारात्मक दूध अभाव छ, त्यसयता डेरीको दूध ल्याएर प्युरिफाई गरी एफ–७५ र एफ–१०० सरह बनाउँदा पनि सोचेअनुसारको उपलब्धि हुँदैन,’ उनले भनिन्, ‘डेरीको दूधमा प्रोटिन र फ्याट कम भएकाले एकदमै ढिलो गरी तौल बढाउँछ ।’

कडा खालको कुपोषण देखिएका बालबालिकालाई ल्याउँदा सुरु–सुरुमा तीनदेखि पाँच दिनसम्म एफ–७५ खुवाएर अवस्थाअनुसार थप्ने गरेको प्रबन्धक झाले बताइन् । ‘पहिलो चरणको सुधारपछि एफ–१०० खुवाउँदै पोषणयुक्त खाना खुवाउँछौं,’ उनले भनिन्, ‘तर अहिले उपचारात्मक दूध अभावले कुपोषित बालबालिकाको उपचारमा समस्या भइरहेको छ नै, डेरीको दूध किन्न पनि बजेट अपुग भइरहेको छ ।’

उनका अनुसार उपचारात्मक दूधको माग गर्दै परिवार कल्याण महाशाखामा पटक–पटक पत्राचार गरिएको छ । तर, उपचारात्मक दूधको पूर्ति गराउनेतर्फ स्वास्थ्य सेवा विभागअन्तर्गतका सो महाशाखाले ध्यान दिएको छैन । १० शय्याको सो पोषण पुनःस्थापना गृहमा अहिले राजविराज नगरपालिकाका पाँच, छिन्नमस्ता गाउँपालिकाका दुई, हनुमाननगर कंकालिनी नगरपालिकाका तथा तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकाका एक/एक गरी जन्मिएदेखि पाँच वर्षसम्मका १० जना कडा खालको कुपोषित बालबालिका उपचाररत भर्ना छन् । तीमध्ये तीन जना बालबालिकालाई एफ–७५ खुवाएर उपचार गर्नुपर्ने अवस्था छ भने सात जना एफ–१०० खुवाउने अवस्था रहेको प्रबन्धक झाको भनाइ छ ।

उता बाजुराको अति विकटमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटका कुपोषित बालबालिकाहरू उपचारबाट वञ्चित छन् । उनीहरूका लागि उपचारात्मक खाना (आरयूटीएफ) छैन । सर्वेक्षण तथ्यांकमा बाजुरामा सबैभन्दा बढी कुपोषणग्रस्त रहेको मुक्तिकोटमा गत चैत महिनाको सुरुदेखि नै आरयूटीएफ छैन ।

मुक्तिकोट सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज बृज विकका अनुसार गत साउन महिनामा दुई जना कुपोषित बालबालिकाको मृत्यु भएको थियो । मृत्यु हुनेमा खडालबाडाका १६ महिना उमेरका सन्तोष न्यौपाने र मुक्तिकोटकी १७ महिना उमेरकी जमुना विकको मृत्यु भएको थियो । विकका अनुसार दुवै बालबालिकाहरू ओटीसीमा उपचाररत थिए । स्वास्थ्य केन्द्रकी अनमी माला बमका अनुसार ती दुवै बालबालिकाहरू सिकिस्त भएपछि रेफर गरिएको थियो । ‘दुवै बच्चा सिकिस्त भएपछि हामीले रेफर गरेका थियौं तर उहाँहरूले अन्यत्र लिएर उपचार गर्न सक्ने अवस्था नभएर होला, कतै लिनु भएन । त्यसपछि ती बच्चाहरूको मृत्यु भएको थियो,’ अनमी बमले भनिन् ।

इन्चार्ज विकका अनुसार करिब पाँच महिना भयो आरयूटीएफ र सर्वोत्तम पिठो सकिएको । आएको छैन । त्यसबेला केही मौज्दात भएका आरयूटीएफका प्याकेटहरू गोदामबाट चोरी भएको उनले बताए । त्यसपछि आरयूटीएफ नभएकाले कुपोषित बालबालिकाहरूको उपचार गर्न सकिएको छैन । ‘हामीले तत्कालै पालिकामा खबर गरेका थियौं,’ उनले भने, ‘पालिकामा पनि नभएको जानकारी गराएका हुन् । अहिले आएको छ भन्ने खबर गरेका छन् ।’

विकका अनुसार यसै साता गरिएको प्रारम्भिक सर्वेक्षणमा वडाभर २५ जना बालबालिकाहरू कुपोषित रहेको भेटिएका छन् । ‘११ जनालाई कडा कुपोषण छ भने १४ जना मध्यम खालको कुपोषित छन्,’ उनले भने, ‘आरयूटीएफ नभएकाले कुपोषित बालबालिकाको उपचार गर्न नसकिएको बारे गाउँपालिकालाई जानकारी गराइएको छ ।’ उनका अनुसार गाउँपालिकाले यसै साता उपलब्ध गराउने खबर पठाएको छ । ‘आरयूटीएफ आएपछि मात्र कुपोषित बालबालिकाहरूलाई भर्ना गरेर उपचार सुरु गर्न सकिने अवस्था हुन्छ,’ उनले भने ।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख भक्त कैलाले मुक्तिकोटमा आरयूटीएफ पठाउने तयारी भइरहेको बताए । ‘सडक यातायात छैन, भरिया लगाएर पठाउनुपर्ने अवस्था छ,’ कैलाले भने ‘वर्षाको कठिन बाटो छ । पूरै एक दिन लाग्छ । हामी चाँडोभन्दा चाँडो पठाउँछौं ।’ धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख झनक ढुंगानाले भने प्रदेशभर यति बेला आरयूटीएफ अभाव नरहेको दाबी गरे । कान्तिपुरबाट