July 13, 2026, Monday
२०८३ असार २९

बझाङ जिप दुर्घटना : तीनको मृत्यु, १२ जना गम्भीर घाइते 

बझाङ : बझाङको केदारस्युँमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो करिब ३ बजे केदारस्यूँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुवावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेको हो ।

चालक देवबहादुर धामीले चलाएको उक्त जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

केदारस्युँ गाउँपालिका ६ दुर्गाथलीका वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली-६ चुवावनका केलादेवी धामी र चक्र महत तथा केदारस्युँ-७ की बिमला धामी रहेका छन्।

दुर्घटनामा चालक देवबहादुर धामीसहित झल्का महत, जयमती महत, धनशेर जाग्री, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जाग्री, बिरु जाग्री र राय महत गम्भीर घाइते भएका छन्।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार जिपमा चालकसहित १६ जना सवार रहेका थिए । दुर्घटनापछि स्थानीयवासीको सहयोगमा उद्धार कार्य संचालन गरिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको केदारस्युँ गाउँपालिकाका विपद फोकल पर्सन लेखराज रावलले बताए । 

प्रहरी टोली पनि घटनास्थल पुगेर उद्धार तथा घटनाबारे अनुसन्धानमा जुटेको छ । घाइतेहरुलाई थप उपचारका लागि सुविधायुक्त अस्पतालमा पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बझाङका प्रहरी प्रमुख डीएसपी टेकबहादुर जोराले जानकारी दिएका छन् ।