बजेट बहिष्कार गर्ने एमालेका दुई सांसदलाई स्पष्टीकरण, पाठकलाई समिति सभापतिबाट फिर्ता बोलाइयो

धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका आफ्ना दुई सांसदलाई ४८ घण्टे स्पष्टीकरण सोधेको छ। साथै, सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
पाठकलाई सामाजिक विकास समिति सभापतिबाट फिर्ता बोलाइएको पत्र एमालेले प्रदेशसभाका सभामुख भीम भण्डारीसमक्ष पठाइसकेको छ। एमाले संसदीय दलको निर्णयअनुसार पाठकलाई समितिको सभापति पदबाट हटाउन पत्र पठाइएको हो।
सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। उक्त बजेट मंगलबार प्रदेशसभाबाट पारित गर्ने कार्यसूची थियो। बजेट पारित गर्नुअघि एमाले संसदीय दलले आफ्ना सबै सांसदलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र मतदानमा तटस्थ नबस्न ह्विप जारी गरेको थियो।
तर, ह्विप उल्लङ्घन गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै एमालेले पूर्वमन्त्री वीरबहादुर थापा र सामाजिक विकास समिति सभापति धर्मराज पाठकसँग स्पष्टीकरण मागेको हो।
एमाले स्रोतका अनुसार दुवै सांसदलाई ४८ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ। पार्टीको निर्देशन उल्लङ्घन गर्नुको कारणसमेत स्पष्ट पार्न उनीहरूलाई भनिएको छ।
संसदीय दलको बैठकसमेत बहिष्कार
बजेटका पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गर्ने एमाले संसदीय दलको बैठकसमेत पाठकले बहिष्कार गरेका थिए। त्यसपछि पार्टीले उनीमाथि थप कारबाही अघि बढाएको हो।
पाठक प्रदेशसभाको सामाजिक विकास समितिका सभापतिसमेत भएकाले उनको भूमिकालाई लिएर एमालेभित्रको विवाद थप गम्भीर बनेको देखिन्छ। पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै उनलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय गरिएको हो।
एमालेले सभामुख भण्डारीलाई पठाएको पत्रका आधारमा अब समितिको सभापति पद रिक्त हुनेछ र प्रदेशसभाको प्रक्रियाअनुसार नयाँ सभापति चयन गर्नुपर्ने हुन्छ।
थापा बैठकमा पुगे, हाजिर गरेनन्
पूर्वमन्त्री वीरबहादुर थापा भने मंगलबार प्रदेशसभा बैठकस्थलमा पुगेका थिए। तर उनले बैठकमा हाजिर नगरेको एमाले स्रोतले जनाएको छ।
बजेट पारित गर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका थापाले अन्ततः प्रदेशसभा बैठक बहिष्कार गरे। बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामासमेत दिएका छन्।
थापाले बिचौलियाको प्रभावमा बजेट ल्याइएको र हतारमा बजेट पारित गर्न नहुने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए। उनको राजीनामापछि एमालेले स्पष्टीकरण पत्रमार्फत राजीनामा फिर्ता लिनसमेत आह्वान गरेको स्रोतले जनाएको छ।
बजेट पारित भएसँगै एमालेभित्र कारबाही
सुदूरपश्चिम प्रदेशसभामा मंगलबार विवाद र प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारका बीच सरकारले बजेट पारित गरेको थियो। बजेट पारित गर्ने प्रक्रियामै सत्तारुढ एमालेका सांसदहरूबीच असहमति देखिएपछि पार्टीले ह्विप उल्लङ्घन गर्ने सांसदविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।
एकातिर प्रदेश सरकारलाई बजेट पारित गराउन सत्तारुढ दलकै सांसदको असन्तुष्टि व्यवस्थापन गर्नुपर्ने अवस्था देखियो भने अर्कोतर्फ पार्टीको निर्देशनविपरीत गतिविधि गर्ने सांसदलाई एमालेले अनुशासनको दायरामा ल्याउन थालेको छ।
अब दुई सांसदले दिने स्पष्टीकरणपछि एमालेले उनीहरूमाथि थप कारबाही गर्ने वा स्पष्टीकरणबाटै विषय टुंग्याउने भन्ने स्पष्ट हुनेछ।



प्रतिकृया दिनुहोस्