नेपालबाट मनसुन पूर्णरुपमा बाहिरियो, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरुपमा बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार (असोज २८ गते) यस वर्षको मनसुन देशका सबै भूभागबाट बाहिरिएको जनाएको हो।
यस वर्ष असोज १७ गतेदेखि पश्चिमी तथा उत्तरी भूभागबाट मनसुन बाहिरिन सुरु भएको थियो। क्रमशः अन्य भूभागबाट पनि मनसुन बाहिरिएसँगै मंगलबार नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएको विभागले जनाएको छ।
सामान्यतया नेपालमा १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा बाहिरिने गर्छ। तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते नेपालमा मनसुन भित्रिएको थियो। मनसुन सरदर मितिभन्दा १२ दिन ढिला गरी बाहिरिएको हो।
मनसुन बाहिरिने सरदर अवधिमा यस वर्ष नेपालभर सरदर वर्षा भएको विभागले जनाएको छ। यद्यपि भौगोलिक क्षेत्रअनुसार वर्षाको मात्रा र प्रतिशतमा फरक देखिएको छ। तराई र पहाडी क्षेत्रको तुलनामा हिमाली क्षेत्रमा बढी वर्षा भएको विभागको भनाइ छ।
मनसुन पूर्णरुपमा बाहिरिएसँगै आगामी केही दिन देशभरको मौसम सामान्यतया घमाइलो रहने मौसमविद्हरूले बताएका छन्। पहाडी भूभागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहे पनि समग्रमा यस वर्षको दशैंमा मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ।



प्रतिकृया दिनुहोस्