प्रधानमन्त्री बालेन शाह मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आगामी मंसिर ७ गते भारतको औपचारिक भ्रमणमा जाने तयारी भएको छ। उच्च सरकारी स्रोतका अनुसार नोभेम्बर २३ मा नयाँदिल्ली पुग्ने गरी भ्रमणको तयारी अघि बढाइएको हो।
यद्यपि भ्रमणको मिति र औपचारिक कार्यक्रमबारे नेपाल र भारत दुवै पक्षले औपचारिक घोषणा गर्न बाँकी छ। यसअघि भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री शाहको नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमण हुन सक्ने समाचार सार्वजनिक गरेका थिए। ‘आजतक’ले पनि सोही अवधिमा भ्रमण प्रस्तावित रहेको जनाएको थियो।
प्रस्तावित भ्रमणमा दुई देशबीच रेल तथा अन्य यातायात सम्पर्क विस्तार, ऊर्जा, व्यापार, पूर्वाधार विकास र बाढीपछिको पुनर्निर्माणका विषय प्राथमिकतामा पर्न सक्ने बताइएको छ।
विशेषगरी रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्ग र जनकपुर–अयोध्या यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा थप प्रगति हुन सक्ने जनाइएको छ। ऊर्जातर्फ ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् आयोजना पनि छलफलका सम्भावित विषय हुन्। दुवै आयोजनाको विकासमा भारतीय सरकारी कम्पनी एनएचपिसी संलग्न छ।
त्यस्तै, दोधारा–चाँदनी एकीकृत जाँच चौकी, महाकाली नदीमा मोटरेबल पुल र भैरहवा एकीकृत जाँच चौकीलगायत सीमा तथा पूर्वाधारका विषय पनि सम्भावित कार्यसूचीमा रहेको ‘आजतक’ले जनाएको छ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भारतीय सहयोगको विशेष प्याकेजबारे समेत छलफल हुन सक्ने जनाइएको छ। यद्यपि उल्लिखित परियोजनामा सम्झौता हुने वा सहयोग घोषणा गरिने विषयमा अहिलेसम्म औपचारिक पुष्टि भएको छैन।
प्रधानमन्त्री शाहलाई भारतले गत जुलाईमै औपचारिक भ्रमणको निमन्त्रणा दिएको थियो। त्यसपछि दुई देशबीच भ्रमणको मिति र कार्यसूची तय गर्ने विषयमा छलफल हुँदै आएको स्रोतले जनाएको छ।
गत असोज २३ गते परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि गृहकार्य भइरहेको तर मिति निश्चित भइनसकेको जनाएको थियो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल र भारत दुवैलाई अनुकूल हुने समयमा भ्रमण हुने बताएका थिए।
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। भेटमा आर्थिक सहकार्य, ऊर्जा तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको भ्रमण गरेका थिए। त्यसैले भारत भ्रमण प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश यात्रा नभए पनि पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको विस्तृत कार्यतालिका, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने औपचारिक वार्ता तथा सम्भावित सम्झौताका विषयमा भने दुवै सरकारबाट औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।



प्रतिकृया दिनुहोस्