हर्क साम्पाङ लेख्छन्- यो देवताको शासन हो ! यहाँ बोल्न पाइँदैन !

श्रम संस्कृतिक पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको मृत्युलाई लिएर बालेन शाह नेतृत्वको सरकारमाथि शब्द प्रहार गरेका छन्।
उनले अहिलेको सरकारलाई ‘देवताको शासन’ भन्दै यहाँ निमुखा नागरिकले बोल्न नपाउने र उल्टै ज्यान गुमाउने पीडितलाई नै दोष दिने प्रवृत्ति हाबी भएको टिप्पणी गरे।
सामाजिक सञ्जालमार्फत मृतक नेपालीलाई सम्बोधन गर्दै सांसद साम्पाङले लेखेका छन् ‘देवताको शासन हो यो ! यहाँ बोल्न पाइँदैन ! यहाँ देवतालाई दोष्दा पाप लाग्छ, पाप !, तिम्रै गल्तीले जरिवाना तिर्न नसकेको कारण तिमीलाई कमजोर भन्नेहरू उनैका भक्त हुन्।’
नेपालमा पात्र फेरिए पनि प्रवृत्ति र शासन उस्तै रहेको उनको निष्कर्ष छ। पसिना गन्हाउने गरिब नागरिकले युरोप-अमेरिकाको ‘अत्तर’ गन्हाउनेहरूलाई भोट दिउन्जेलसम्म देशमा परिवर्तन नआउने उनको जिकिर छ।
‘गरिबले गरिबको हित गर्ने, गरिबको पक्षमा नीति बनाउने पार्टीलाई नचिन्नु पनि यो दुर्भाग्यको अर्को अहम कारण हो’, साम्पाङले भनेका छन्।
धेरैका लागि यो घटना एउटा समाचार मात्रै भए पनि आफ्ना लागि गणेश नेपाली एउटा बिम्ब, इतिहास, विद्रोह र अमर सन्देश भएको सांसद साम्पाङले उल्लेख गरेका छन्।
मृतकका बाबुआमा र आफन्तजनलाई लागेको गहिरो चोट आफूले महसुस गर्न सक्ने भन्दै उनले गरिब र निमुखाको न्यायको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता जनाए।
‘कोही तिम्रो न्यायको पक्षमा उभियोस् नउभियोस्, तर म सधैँ तिम्रो पक्षमा कराउनेछु, आवाज उठाउनेछु’, उनले अगाडि लेखेका छन्, ‘तिमी जस्ता लाखौं युवालाई यही देशमा रोजगारी दिनुपर्छ भन्ने माग लिएर एक्लै भए पनि सडक, सञ्जाल र सदनमा बरबराइरहनेछु।’
जतिसुकै गाली खाए पनि आफू पछि नहट्ने बताउँदै सांसद साम्पाङले आगो पिएर बाँच्ने विवश कथा आफूसँग रहेको उल्लेख गरे।
त्यस्तै साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै कडा शब्द प्रहार गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत रास्वपाले देश चलाउन सक्दैन भन्ने कुरा सय पटक प्रमाणित भइसकेको दाबी गरेका छन्।
सभापति लामिछानेलाई सम्बोधन गर्दै सांसद साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवी जी… are you still alive or… ? अब नि हस्तक्षेप नगर्ने हो भने आउने चुनावमा टाइँ टाइँ फिस् हुनेछ !’
काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्बासीहरूको बिचल्ली भएको घटनातर्फ संकेत गर्दै सांसद साम्पाङले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए।
‘सुकुम्बासी व्यवस्थापनमा असफल बनेको सरकारले अब के गर्ला ???’, उनले प्रश्न गरे।
नागरिकबाट





प्रतिकृया दिनुहोस्