April 18, 2026, Saturday
२०८३ बैशाख ५

दलित अधिकारका सवालमा सायल गाउँपालिका सम्बेदनशील छ : अध्यक्ष जोशी

डोटी । दलित अधिकारका सवालमा सायल गाउँपालिका सम्बेदनशील रहेको गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बताएका छन् । दलित समुदायको नेतृत्व तथा क्षमता विकास अन्तरक्रिया कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै अध्यक्ष जोशीले गाउँपालिका दलित समुदायमैत्री भएको बताए ।

गाउँपालिकाका हरेक क्रियाकलापमा पनि दलित समुदायको सहमागिता रहँदै आएको बताउँदै उनले भने,‘दलित समुदायलाई हामीले परम्परागत सीपलाई आधुनिकीकरण गर्दै आयआर्जनसँगै जोडिरहेका छौँ ।’ उनले दलित र गैह्र दलितबीचको विभेद हटाउन आफू गाउँपालिका अध्यक्ष हुनुभन्दा अघिदेखि नै सक्रिय रहेको बताए । उनले भने,‘म यस्तो विभेदको घोर विरोधी हुँ ।’

सायल गाउँपालिकाको सभाहलमा तीन दिनदेखि चलेको अन्तरक्रिया कार्यक्रमको समापन समारोहमा बोल्दै सायल गाउँ कार्यपालिका सदस्य डम्मरबहादुर बिकले सीपमूलक तालिम सिकेर रोजगार उन्मुख भएमा आर्थिक क्षेत्र बलियो हुने र अर्थतन्त्र बलियो भएमा दलित समुदायको खाडल पुरिने निश्चित रहेको बताए । उनले भने,‘दलित समुदायको खाडल पुर्नका लागि पनि हामीले रोजगारउन्मुख हुनु जरुरी छ ।’

कार्यक्रममा प्रमुख प्र्रशासकीय अधिकृत बद्रिनाथ पोखरेल, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य मिन बमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दिगो विकास समाज डोटीका अध्यक्ष कृष्णबहादुर लुहारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।