April 18, 2026, Saturday
२०८३ बैशाख ५

दिपायल पुगेर प्रचण्डले भने- अखण्ड सुदूरपश्चिमको नाराले डोटीको अधिकार कुण्ठित ग¥यो

दिपायल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीको औचित्य र अधिकार कुण्ठित गरेको दाबी गरेका छन्। माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानका क्रममा शनिवार दिपायल पुगेर प्रचण्डले यस्तो दाबी गरेका हुन्।

‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान सभाको निर्वाचन हुनुअगाडि नै डोटी आएको थिएँ एकपटक दिपायल आएको थिएँ,’ प्रचण्डले भने, ‘त्यतिखेर सम्बोधन गर्दा डोटी नै सुदूरपश्चिमको केन्द्र हुन्छ र हाम्रो तर्फबाट त्यसमा सहयोग हुन्छ भनेको थिएँ। तर, अन्ततः हाम्रो त्यतिबेला केही लागेन, प्रदेशको केन्द्र धनगढी हुनपुग्यो, कैलाली हुनपुग्यो। ’

आफू दिपायलबाट फर्किसकेपछि अखण्ड सुदूरुपश्चिमको नारा लागेको पनि उनले बताइए। ‘त्यतिखेर सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो र अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको कैलालीमा पु¥याएको हो भनेर बुझ्न म तपाईँ डोटीबासीलाई गम्भीर रुपमा बुझ्न आग्रह गर्न चाहन्छु,’ प्रचण्डले भने।

अखण्ड भनिदाँ राम्रो शब्द र मिठो लागेको भएपनि त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित गरेको दाहालले दाबी गरे।

प्रचण्डले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्। यद्यपि माओवादी केन्द्रलाई तीन-तीन पटकसम्म सरकारमा पुर्‍याएको कांग्रेस र एमाले नभएको उनले बताए।

‘हामीलाई सिंहदरबारमा पुर्‍याउने, विस्तृत शान्ति सम्झौतामा पुर्‍याउने, हामीलाई तीन-तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्‍याउने कांग्रेसहरू एमाले होइन। गरिब, मजदुर किसान र उत्पीडित वर्ग, समुदायले पुर्‍याएको हो,’ उनले भने।

तर यसबीचमा जति जनताको नजिक जानुपर्ने र उनीहरूको कुरा सन्नुपर्ने हो, त्यहाँ कमजोरी भएको अध्यक्ष प्रचण्डले बताए।

‘त्यो आत्मसमीक्षा गरेर फेरि तपाईंको साथमा तपाईंहरूका पीडा सुनेर त्यसलाई राष्ट्रव्यापी रूपमा स्थापित गर्ने उद्धेश्यका साथ आएका छौं,’ उनले भने।  

उनले माओवादी केन्द्र बलियो हुँदासम्म देशका महिला, दलित, मजदुर, किसानहरू, आदिवासीहरू, जनजातिहरू, थारूहरू सबै शक्तिशाली हुने बताए। तर, माओवादी केन्द्र कमजोर भए सबैको अधिकार खोसिने खतरा हुने उनको भनाइ थियो।  

‘त्यसकारण हामीले अपिल गर्दै आइरहेका छौं। हाम्रो हात बलियो बनाउनुस्,’ उनले भने।

सोही सभामा सम्बोधन गरेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पनि सुदूरपश्चिमको राजधानी डोटी नै हुनुपर्ने आफूलाई लागेको बताए।

‘दिपायल हिजो राणाकालमा पनि नौ जिल्लाको सदरमूकाम, पञ्चायती कालमा विकास क्षेत्र र अहिले पनि मेरो भित्रि हृदयले के भन्छ भने–मेरो ब्रह्मले भनेको कुरा भन्नुपर्छ,’ उनले भने, ‘अहिले सुदूरपश्चिमको राजधानी हुनुपथ्र्यो। के कारणले भएन हामी छलफल गर्दैछौँ, गरौँला।’