April 18, 2026, Saturday
२०८३ बैशाख ५

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दस जना पक्राउ

डोटी । डोटीको बडीकेदार गाउँपालिकामा सिकार खेल्ने क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ। प्रहरीले दिएको जानकारी अनुसार बडीकेदार गाउँपालिका–२, बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको हो।

खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह  खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। सार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।